पर्साको कोइलाभर क्षेत्रमा ‘कोइलाभर जङ्गल रिसोर्ट’ सञ्चालनमा
वीरगञ्ज — पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ स्थित मधुवन मथवल क्षेत्रको कोइलाभर जङ्गल नजिक आजदेखि ‘कोइलाभर जङ्गल रिसोर्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
विगत केही महिनादेखि तयारीमा रहेको रिसोर्टको आज विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो। सञ्चालक सुनिल पटेल का अनुसार प्राकृतिक वातावरणमा शान्ति र आराम प्रदान गर्ने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो।
रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै फरक र अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। “जङ्गलको सपना जीवित हुन लागेको छ, सास फेर्न, आराम गर्न र अन्वेषण गर्न तयार हुनुहोस्” भन्ने नारासहित सञ्चालनमा आएको यस रिसोर्टमा शान्त वातावरणसँगै आधुनिक सुविधा उपलब्ध गराइएको छ।
रिसोर्टभित्र नेपाली तथा अन्तर्राष्ट्रिय परिकार उपलब्ध हुने रेस्टुरेन्ट, आरामदायी आवास कोठा तथा प्रकृतिसँग नजिकबाट अवलोकन गर्न मिल्ने स्थानहरू रहेका छन्।
यो क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज नजिक पर्ने भएकाले वन्यजन्तु तथा जैविक विविधताको सुरक्षित अवलोकनको सम्भावना पनि रहेको छ।
सञ्चालक पटेलका अनुसार रिसोर्टले प्रकृति संरक्षण र आधुनिक सुविधाबीच सन्तुलन कायम गर्दै सञ्चालन गरिनेछ। यसले स्थानीय पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।