जाऔं है पोखरा’अभियान वीरगञ्जमा समपन्न,आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड

77

चैत्र १० वीरगंज, आनन्द पटेल –

वीरगञ्ज — आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ पोखरा नेपाल द्वारा सञ्चालित ‘जाऔं है पोखरा’ अभियान अन्तर्गत वीरगञ्जमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। यस अभियानलाई नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश पर्यटन प्रवर्द्धनको सहकार्यमा पूर्वी नेपालका विभिन्न शहरहरू—वीरगञ्ज, विराटनगर र इटहरी—मा विस्तार गरिएको छ।

अभियानको मुख्य उद्देश्य आन्तरिक पर्यटकको संख्या वृद्धि गर्दै पोखरालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु रहेको आयोजकले बताएका छन्।

वीरगञ्जस्थित होटल मकालुमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पर्यटन क्षेत्रको विकासका लागि राज्य, निजी क्षेत्र र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताए। सहभागीहरूले पर्यटकहरूले भोगेका विभिन्न समस्या—सेवा–सुविधाको अभाव, व्यवस्थापन कमजोरी, यातायात कठिनाइ—समेत उठाएका थिए। आयोजकले ती समस्याहरू समाधान गर्दै सुरक्षित र शान्त वातावरणमा पर्यटकलाई पोखरा भ्रमण गर्न आग्रह गरेको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पर्यटन क्षेत्रको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। उनले आयोजकले देखिएका समस्याहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै सञ्चारकर्मीहरूसँग समन्वय गर्न सुझाव दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, पूर्व मन्त्री ओमप्रकाश शर्मा, नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, पूर्व अध्यक्ष अनिल अग्रवाल लगायतले पर्यटन प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थितिका कारण बाह्य पर्यटकको आगमन घटेको अवस्थामा आन्तरिक पर्यटन सुदृढ बनाउन अभियान सञ्चालन गरिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई तथा स्थल कनेक्टिभिटी विस्तार हुँदै गएको र यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम होटल व्यवसायी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो। सहभागीहरूले आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै पर्यटक भित्र्याउन प्रतिबद्धता व्यक्त गरेका थिए।

लक्ष्मण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजकले सुरक्षित र शान्त वातावरणमा पोखरा भ्रमण गर्न सबैलाई आग्रह गर्दै ‘जाऔं है पोखरा’ अभियानलाई सफल बनाउन सहयोग गर्न अपिल गरेको छन।

Leave A Reply

Your email address will not be published.