ओम शान्ति भवनमा कृष्ण–राधा झाँकी र प्रवचनले भक्तजन मन्त्रमुग्ध
बीरगञ्ज, साउन ३१ –
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ओम शान्ति भवन, छपकैयामा भव्य चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम हर्षोल्लासपूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता क्षेत्रीय सञ्चालिका एवं बालब्रह्मचारिणी तपस्विनी रबिना दिदीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक, उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, रुङ्टा वेलफेयर सोसाइटी वीरगञ्जका अध्यक्ष सुरेश रुङ्टा, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी उपाध्यक्ष मधु राणा लगायतको विशेष उपस्थिति रहेको थियो।
बालबालिकाले कृष्ण–राधाको रूप धारण गरी आकर्षक झाँकी प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य र सांस्कृतिक प्रस्तुति दिएर वातावरणलाई उल्लासमय बनाएका थिए।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका बेलि दिदी, गोबर्धन भाईजी र गोकुल भाईजीको विशेष सहयोग रहेको कार्यक्रममा गोकुल भाईजीले प्रवचन गर्दै श्रीकृष्णको सत्यनिष्ठ, कर्मयोगी र आदर्श जीवनशैलीबारे प्रकाश पारे। उनले भने, “आज हामी सबैले श्रीकृष्णजस्तो सत्यनिष्ठ र आदर्श जीवन जिउन आवश्यक छ।”
कार्यक्रमलाई सहभागी अतिथि र भक्तजनहरूले धार्मिक श्रद्धा, भक्ति तथा सांस्कृतिक एकताको अद्भुत संगमका रूपमा मूल्याङ्कन गर्दै समाजमा सकारात्मक ऊर्जा भर्ने प्रेरणादायी पहल रहेको बताएका थिए