क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादव सहित आठै जना धरौटीमा रिहा

25

वीरगन्ज, भदौ २९ ।

पर्साको वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित आठै जना धरौटीमा रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशमा सोमबार अध्यक्ष यादव सहित पक्राउ परेका आठै जना धरौटी बुझाएर रिहा भएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गाउँपालिका अध्यक्ष यादवले २५ हजार रुपैयाँ र इलाका प्रहरी कार्यालय पोखरियाका तत्कालीन प्रहरी निरीक्षक प्रदीप पौडेलले १८ हजार रुपैयाँ धरौटी बुझाएका छन्।

त्यस्तै, क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल र जयदेव साहले जनही २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। अध्यक्ष यादवसँगै पक्राउ परेका चन्दन सहनी र ओमप्रकाश बैठा तथा क्यासिनोका कर्मचारी एवं अभिनेता प्रदेशी साहले जनही १५ हजार रुपैयाँ धरौटी बुझाएका छन्।

भदौ २० गते राति करिब १०ः३० बजे नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले क्यासिनोमा छापा मारेको थियो। छापा मार्ने क्रममा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका आठै जना नौ दिनपछि सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा धरौटी बुझाएर रिहा भएका हुन्।

Leave A Reply

Your email address will not be published.