नव अभियान नेपालको आयोजनामा वीरगञ्जमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
वीरगञ्ज आनन्द पटेल।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत वीरगञ्जमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। नव अभियान नेपालको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा हिंसा पीडितको संरक्षण र न्याय सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नव अभियान नेपालक पर्सा शाखाका अध्यक्ष सुरजबाबुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रञ्जना पण्डितको उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिका रूपमा इनर्वा प्रहरी चौकीका इन्चार्ज सहभागी हुनुभएको थियो।
कार्यक्रममा माइती नेपाल, आफन्त नेपाल, ज्योति समुदाय, आशिष नेपाल, नेपाल रेडक्रस सोसाइटी तथा बिर्ता प्रहरी कार्यालयका प्रतिनिधिहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
दीप प्रज्वलनमार्फत लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन, हिंसापीडितको संरक्षण गर्न तथा हिंसा गर्नेहरूलाई दण्डहीनताबाट उन्मुक्ति नदिनुपर्ने सन्देश प्रवाह गरिएको थियो।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ सञ्चालन भइरहेको छ।