बाढीको पीडामा जगदम्बाको सहारा, अनिल रुङ्गटाद्वारा ५१ लाख सहयोग

51

वीरगञ्ज । नेपालकै प्रतिष्ठित व्यापारिक तथा औद्योगिक घराना जगदम्बा इन्टरप्राइजेजले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

बाढीबाट प्रभावित क्षेत्रमा पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्री विशेष छुटमा उपलब्ध गराउने प्रतिबद्धता समेत इन्टरप्राइजेजले जनाएको छ।

उद्योगको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाका क्षेत्रमा गरिएको सहयोगले बाढी प्रभावित नागरिकलाई राहत पुग्ने विश्वास निर्देशक रुङ्गटाले व्यक्त गरेका छन्। इन्टरप्राइजेजले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।

यस विषयमा निर्देशक रुङ्गटासँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि भेट हुन सकेन। यस्तै, इन्टरप्राइजेजका सञ्चालक रमेश अग्रवालसँग फोनमार्फत प्रतिक्रिया लिन खोज्दा पनि फोन उठेन।

फलाम, सिमेन्टलगायत निर्माण सामग्री उत्पादन गर्दै आएको जगदम्बा इन्टरप्राइजेजले आफ्ना उत्पादनको गुणस्तर र विश्वसनीयतालाई थप मजबुत बनाउँदै लगेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.