पढाइसँगै व्यवहारिक शिक्षामा जोड, गोल्डेन फ्युचरमा तीन क्लब गठन

68

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुर स्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयमा विद्यार्थीहरूको नेतृत्व क्षमता, वैज्ञानिक सोच, डिजिटल ज्ञान तथा खेलकुद प्रतिभा विकास गर्ने उद्देश्यले तीनवटा विद्यार्थी क्लब गठन गरिएको छ।

विद्यालयका प्रिन्सिपल उमेश शाहको अध्यक्षता तथा पूर्व संविधानसभा सदस्य इस्लाम हवारीको प्रमुख आतिथ्यमा क्लब गठन कार्यक्रम सम्पन्न भएको हो।

विद्यालयका सञ्चालक डा. उमेश चौरसियाले अध्ययनसँगै विद्यार्थीलाई व्यवहारिक तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु आवश्यक रहेको बताउनुभयो। किताबमा आधारित शिक्षासँगै विज्ञान, प्रविधि, सिर्जनशीलता र खेलकुदलाई प्राथमिकता दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि क्लब गठन गरिएको उहाँले बताउनुभयो।

विद्यालयमा फ्युचर लिडरशिप क्लब, साइन्स इन्नोभेसन डिजिटल क्लब र स्पोर्ट्स क्लब गठन गरिएको छ।

फ्युचर लिडरशिप क्लबमार्फत विद्यार्थीमा नेतृत्व, जिम्मेवारी, अनुशासन तथा निर्णय क्षमता विकास गर्ने गतिविधि सञ्चालन गरिने विद्यालयले जनाएको छ। साइन्स इन्नोभेसन डिजिटल क्लबले विज्ञान, प्रविधि, डिजिटल सीप तथा सिर्जनात्मक गतिविधिमा विद्यार्थीलाई सहभागी गराउनेछ।

त्यसैगरी, स्पोर्ट्स क्लबमार्फत विभिन्न खेलकुद गतिविधि, प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गरी विद्यार्थीको खेल प्रतिभा पहिचान र विकासमा जोड दिइने विद्यालयले जनाएको छ।

तीनवटै क्लबले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। क्लब गठनसँगै विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउने अवसर प्राप्त गर्ने विद्यालयले जनाएको छ।

कार्यक्रममा एभरेस्ट पब्लिक स्कुलका प्रिन्सिपल नितु चौरसिया,  शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक कविराजले गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.