अपेन पर्साको अध्यक्षमा सुमित कलवार, शिक्षकलाई फिनिक्स तालिम

97

वीरगञ्ज आनन्द पटेल।

वीरगञ्ज । एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (एपीईएन) को पर्सा जिल्ला कार्यसमिति गठन गरिएको छ। प्रारम्भिक बालशिक्षाको गुणस्तर अभिवृद्धि तथा प्रिस्कुल शिक्षामा संलग्न शिक्षकहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षकहरूका लागि फिनिक्स तालिमसमेत सञ्चालन गरिएको थियो।

गठित कार्यसमितिको अध्यक्षमा आइडियल मोन्टेसरी स्कुल, वीरगञ्जका सुमित कलवार चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा लिटिल स्टार मोन्टेसरी, वीरगञ्जकी सुधा तिवारी, सचिवमा फर्स्ट स्टेप प्रि-स्कुल, वीरगञ्जका अजय बाल र कोषाध्यक्षमा युरो स्कुल, वीरगञ्जकी मौशम भाङ्गर चयन भएका छन्।

त्यस्तै, कार्यकारी सदस्यमा लिटिल स्टार मोन्टेसरी, सिमराकी सबिता सुवेदी र रोयल किड्स मोन्टेसरी, वीरगञ्जकी रुचिका श्रीवास्तव चयन भएका छन्।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा प्रमुख आनन्द लामिछाने प्रमुख अतिथि तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा एपीईएनका केन्द्रीय अध्यक्ष कृष्ण कुमार बोहरा, केन्द्रीय सचिव सम्झना बस्नेत, प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तव र क्रियाशील युवा पत्रकार संघका अध्यक्ष आनन्द पटेललगायत विभिन्न विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक तथा शिक्षिकाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले प्रारम्भिक बालशिक्षा बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताए। गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूको क्षमता विकास, प्रभावकारी शिक्षण विधि र विद्यालयको शैक्षिक वातावरणमा सुधार आवश्यक रहेको उनको भनाइ थियो। उनले शिक्षकहरूलाई समयानुकूल तालिम प्रदान गर्दा शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी हुनेमा जोड दिए।

त्यसैगरी विशिष्ट अतिथि डा. शाक्यले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि र नवीन शिक्षण विधिको प्रयोग आवश्यक रहेको बताए। प्रारम्भिक बालशिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन शैक्षिक संस्था, शिक्षक तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

कार्यक्रममा सञ्चालन गरिएको फिनिक्स तालिमले प्रिस्कुल शिक्षकहरूको शिक्षण सीप, कक्षाकोठा व्यवस्थापन तथा बालमैत्री शिक्षण विधिसम्बन्धी क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एपीईएनले प्रारम्भिक बालशिक्षाको विकास, प्रिस्कुल शिक्षाको गुणस्तर सुधार तथा शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको छ। नवगठित पर्सा जिल्ला कार्यसमितिले आगामी दिनमा शिक्षकहरूको क्षमता विकास र शैक्षिक अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।

Leave A Reply

Your email address will not be published.