वीरगञ्जमा कुशवाहा समुदायको दशैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
वीरगञ्ज, २४ असोज आनन्द पटेल ।
वडा दशैंको पावन अवसरमा कुशवाहा बुद्धिजीवी सेवा समाज पर्सा र नेपाल कुशवाहा कल्याण समाज पर्साको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज स्थित नगवाको काव्या एकेडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा कुशवाहा समुदायका अगुवा, बुद्धिजीवी तथा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले एक अर्कालाई वडा दशैंको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाल कुशवाहा समाजका केन्द्रीय सदस्य सुरेश कुशवाहाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल कुशवाहा कल्याण समाज पर्साका अध्यक्ष प्रमोद कुशवाहाले गरेका थिए। कार्यक्रममा कुशवाहा बुद्धिजीवी सेवा समाज पर्साका अध्यक्ष सन्दीप कुशवाहाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सोही संस्थाका सचिव विजय कुशवाहाले गरेका थिए।

कार्यक्रममा कृष्णा मेहता, हरिन्द्र कुशवाहा, अवध कुशवाहा, अनिल कुशवाहा, श्याम कुशवाहा, किशोर मेहता, फुलेना कुशवाहा, अरुण कुशवाहा, मातृका कुशवाहा र राजेश्वर कुशवाहालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा दशैं जस्ता चाडपर्वले समाजमा आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकतालाई बलियो बनाउने चर्चा गरिएको थियो। यस्ता कार्यक्रमले समुदायका सदस्यबीच आपसी सम्बन्ध प्रगाढ बनाउनुका साथै सामाजिक तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
कुशवाहा बुद्धिजीवी सेवा समाज पर्सा र नेपाल कुशवाहा कल्याण समाज पर्साले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमले कुशवाहा समुदायबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।