लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीद्वारा भिषवा डाँडामा वृक्षरोपण, २०० भन्दा बढी बिरुवा रोपिए
वीरगञ्ज आनन्द पटेल।
लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीको आयोजनामा शनिबार वीरगञ्जस्थित भिषवा डाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अमला, अम्बा, सपेता लगायत विभिन्न प्रजातिका २०० भन्दा बढी बिरुवा रोपिएको हो।
क्लबकी चार्टर्ड प्रेसिडेन्ट सुशीला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पीएमसीसी रमेश अग्रवाल, क्याबिनेट सेक्रेटरी बासु तिमल्सिना, डिस्ट्रिक्ट पीआरओ चिफ विजय कुशवाहा तथा एरिया चिफ सुनील गुप्ता लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका फर्स्ट भाइस प्रेसिडेन्ट उत्तम कुमार कुशवाहा, सेकेन्ड भाइस प्रेसिडेन्ट राजु हाडा, थर्ड भाइस प्रेसिडेन्ट नितेश यादव र फोर्थ भाइस प्रेसिडेन्ट विशाल साहको सहभागिता रहेको थियो। त्यसैगरी, क्लबकी सचिव नेहा अग्रवाल र कोषाध्यक्ष सुष्मा मण्डल लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा विशाल साह, विक्की साह, रेनु सिंह, राज विक्रम साह, आनन्द तिवारी, पूजा यादव, रानी देवी सिंह ठकुराई, रीता श्रेष्ठ, पुष्पा यादव, दीपा भट्टराई, मेघा कुमारी कलवार, पिंकी सिंह, रेखा श्रेष्ठ, बबिता चौधरी, गीता साह, प्रिया सिंह र शम्भु सिंह लगायत सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले वातावरणीय सन्तुलन कायम राख्न, प्राकृतिक सम्पदाको संरक्षण गर्न तथा बढ्दो प्रदूषण न्यूनीकरण गर्न वृक्षरोपण आवश्यक रहेको बताएका थिए। उनीहरूले वृक्षरोपणले वातावरणलाई स्वच्छ राख्नुका साथै भावी पुस्ताका लागि हरियाली र स्वस्थ वातावरण निर्माण गर्न सहयोग पुर्याउने उल्लेख गरेका थिए।
वक्ताहरूले रूख बिरुवाले कार्बन डाइअक्साइड अवशोषण, वायु प्रदूषण न्यूनीकरण, जैविक विविधताको संरक्षण तथा माटोको क्षय रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, रूख बिरुवाले जलस्रोतको संरक्षण र वातावरणीय तापक्रम सन्तुलित राख्न समेत सहयोग पुर्याउने उनीहरूको भनाइ थियो।
वृक्षरोपण गर्नु मात्र पर्याप्त नहुने भन्दै कार्यक्रममा रोपिएका बिरुवाको संरक्षण, नियमित हेरचाह र उचित व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेमा जोड दिइएको थियो। बिरुवालाई हुर्काएर संरक्षण गर्न सके मात्रै वृक्षरोपण अभियानको उद्देश्य पूरा हुने सहभागीहरूले बताएका थिए।
बढ्दो वातावरणीय चुनौती न्यूनीकरण गर्दै प्राकृतिक सम्पदाको संरक्षण र हरियाली विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाहमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।