लागू औषध नियन्त्रण र उद्धार कार्यमा उत्कृष्ट योगदान दिएका प्रहरी निरीक्षक श्याम सुन्दर यादव वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित
धुलिखेल, काभ्रेपलाञ्चोक | जेठ ५, २०८३
नेपाल प्रहरी प्रदेश कार्यालय कर्मचारी प्रशासन शाखा वीरगञ्ज दरबन्दी भई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक श्याम सुन्दर यादव २०८३ वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
प्रहरी निरीक्षक यादवले धुलिखेल नगरपालिका–१२ पिप्ले निवासी ६० वर्षीय बलराम तामाङ र ५९ वर्षीया रन्जु तामाङको घरमा खानतलासी गर्ने क्रममा लागू औषध गाँजाको बोटसहित १८ केजी २१ ग्राम गाँजा तथा २१० ग्राम पोल्यान्ड बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याएका थिए।
त्यसैगरी, २०८२ चैत १३ गते नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा स्थित बीपी राजमार्ग अन्तर्गत रोसी खोलामा आएको बाढीका कारण गाडी र मोटरसाइकल फस्दा सात जना यात्रु खोलाको बीचमा ढुंगामाथि अलपत्र परेको अवस्थामा प्रहरी निरीक्षक यादवको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो।
उक्त कार्यहरू इमान्दारितापूर्वक, कर्तव्यनिष्ठ र उत्कृष्ट ढंगले सम्पन्न गरेको मूल्यांकन गर्दै उनलाई २०८३ वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।