नेपाल राष्ट्रिय विद्यापीठ विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
वीरगञ्ज, १० जेठ । सिवान्स व्यवसायिक प्रालि जगरनाथपुर गाउँपालिका–६ को आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका वडा नं. ११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय को प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अजय कुमार बरई रहनुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर कुर्मी, प्रधानाध्यापक डा. राजकुमार सिंह, संस्थापक संयोजक शैलेश गिरी तथा समाजसेवी सबिता कुमारी शर्मा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले विद्यालय परिसरलाई हराभरा र वातावरणमैत्री बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
आयोजक संस्थाले आगामी दिनमा पनि सामाजिक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।