वीरगञ्जमा महाशिवरात्रि अवसरमा ‘भजन कल्भिंग’ सांस्कृतिक कार्यक्रम हुने

8

फागुन २, वीरगञ्ज (पर्सा)।

विश्व हिन्दू परिषद नेपाल वीरगञ्ज समितिको आयोजना तथा हिन्दू पत्रकार संघ नेपाल को सहयोगमा महाशिवरात्रिको उपलक्ष्यमा विशेष “भजन कल्भिंग (सांस्कृतिक कार्यक्रम)” आयोजना गरिने भएको छ। कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले विस्तृत जानकारी गराएको हो।

वीरगञ्ज महानगर समितिका सचिव बिक्की मिश्रले महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महान पर्व भएकाले हरेक वर्षझैं यस वर्ष पनि भव्य रूपमा कार्यक्रम सम्पन्न गरिने बताए। उनका अनुसार “भजन कल्भिंग” परम्परागत भजन–कीर्तनकै आधुनिक प्रस्तुति तथा नयाँ नाम हो, जसअन्तर्गत सांस्कृतिक भजन, कीर्तन र आध्यात्मिक प्रस्तुति समावेश गरिनेछ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा आधुनिक भजन–कीर्तन तथा शिव धुनी पूजन रहने आयोजकले जनाएको छ। भक्तजनहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझै भव्य बनाउने विश्वास व्यक्त गरिएको छ।

त्यस्तै, हिन्दू पत्रकार संघ नेपालका सचिव राज सरार्फले सम्पूर्ण सञ्चारकर्मीलाई कार्यक्रमको सन्देश, भिडियो तथा सूचना अधिकभन्दा अधिक भक्तजनसम्म पुर्‍याउन सहयोग गर्न आग्रह गरेका छन्। धार्मिक तथा सांस्कृतिक चेतना प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो।

आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा उपस्थित भई धर्म, संस्कृति र परम्पराको संरक्षणमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.