वीरगञ्जमा ‘हनुमान अंश’ फिल्मको अवसरमा सनातन हिन्दू मोर्चाद्वारा लड्डु वितरण

39

वीरगञ्ज, भदौ ३० ।

भगवान् हनुमानप्रति आस्थावान् ‘हनुमान अंश’ फिल्म प्रदर्शनको अवसरमा सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगरपालिका समितिले वीरगञ्जमा लड्डु वितरण गरेको छ।

ऋषिपञ्चमी पर्व तथा गणेश चतुर्थीको दोस्रो दिन ‘जय श्रीराम, जय सियाराम, जय हनुमान’को नारासहित ऐतिहासिक हनुमान मन्दिर महावीर स्थानमा सामूहिक पूजापाठ गरी लड्डु वितरण गरिएको हो।

मोर्चाले महावीर स्थान आसपासका क्षेत्रसँगै ए–म्याक्स सिनेमाहल बाइपास रोड, त्रिमूर्ति सिनेमा हल मुर्ली, वीरगञ्ज न्यूरो अस्पतालमा रहेका बिरामीका कुरुवा, शक्तिपीठ श्री गहवामाई मन्दिर क्षेत्र तथा विभिन्न गणेश पूजा स्थलमा लड्डु वितरण गरेको जनाएको छ।

सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ताको अगुवाइमा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोष पटेल, केन्द्रीय सदस्यहरू योगेन्द्र प्रसाद कलवार, अरविन्द कुमार मदनवाल, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, वीरगञ्ज नगर समितिका मन्त्री दीपक साह, कोषाध्यक्ष राजु साह तेली तथा नगर सदस्यहरू सागर साह, विकी साह, सुमित श्रीवास्तव, निरञ्जन कुशवाहा र कृष्ण मोहन वर्णवाल लगायतको उपस्थिति थियो।

मोर्चाले पृथ्वीमा आज पनि जीवित रहेको धार्मिक विश्वास गरिने भगवान् हनुमानको सम्मान तथा सनातन धर्म र संस्कृतिलाई समेटेर ‘हनुमान अंश’ फिल्म निर्माण गरेको भन्दै फिल्म निर्माणमा संलग्न सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रममा करिब ३०० पिस अर्थात् १२ किलोग्राम लड्डु वितरण गरिएको सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समितिले जनाएको छ।

Leave A Reply

Your email address will not be published.