वीरगञ्ज कारागारका महिलालाई तीजको अवसरमा खाद्यान्न तथा सरसफाइ सामग्री वितरण

57

वीरगन्ज २६। 

हरितालिका तीजको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसअन्तर्गत वीरगञ्जमा खाद्यान्न तथा स्वास्थ्य र सरसफाइ सम्बन्धी सामग्री वितरण गरिएको छ।

वीरगञ्जस्थित बिर्ता कारागारमा रहेका महिलाहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा खाद्यान्नसँगै व्यक्तिगत सरसफाइ तथा स्वच्छता सम्बन्धी आवश्यक सामग्री वितरण गरिएको हो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत प्रसाद कानु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले तीजजस्तो चाडपर्वलाई सामाजिक सेवा र मानवीय सहयोगसँग जोडेर आयोजना गरिएको कार्यक्रमले सकारात्मक सन्देश दिएको बताउनुभयो।

कार्यक्रममा लायन रोशन गुप्ता, लायन डी.एन. अग्रवाल, सुशील चाचान, बिनोद खण्डेवाल, वीरगञ्ज कारागारका सुरक्षा प्रमुख प्रदीप जैसवाल, गजेन्द्र राउत तथा जेलर प्रमुख सुनिल चौरसिया लगायतको उपस्थिति रहेको थियो।

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफका अध्यक्ष वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलकी अध्यक्ष मिनाक्षी गुप्ताको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

महिलाहरूको आवश्यकतालाई ध्यानमा राखी खाद्यान्न तथा व्यक्तिगत स्वास्थ्य र सरसफाइका सामग्री वितरण गरिएको आयोजकहरूले जनाएका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सहयोगले कारागारमा रहेका महिलाहरूलाई प्रत्यक्ष लाभ पुग्ने उनीहरूको भनाइ छ।

कार्यक्रममा संयोजक सुमन श्रेष्ठ, के.एम. अन्सारीलगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका लागि आवश्यक सम्पूर्ण खर्च लायन लालबहादुर थिङकी छोरी तथा अस्ट्रेलियामा बस्दै आएकी इनु थिङले व्यहोर्नुभएको थियो। कार्यक्रमको सञ्चालन लालबहादुर थिङले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.