वीरगञ्ज–७ मा फोहोर संकलन विवाद : पैसा नदिँदा विद्यालयको फोहोर नउठाएको दाबी

73

वीरगञ्ज, साउन १४ । वीरगञ्ज महानगरपालिका–७ अन्तर्गत कुम्हालटोल क्षेत्रमा फोहोर व्यवस्थापनमा लापरवाही भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। फोहोर उठाउने ट्याक्टरका चालक तथा उनीसँगै आएका व्यक्तिले व्यक्तिगत रूपमा रकम माग्ने गरेको र रकम नदिएपछि फोहोर नउठाएको आरोप लागेको छ।

यस सम्बन्धी भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको छ। स्थानीयवासीका अनुसार फोहोर उठाउने टोलीले आफूले मागेको रकमलाई महानगरपालिकाको निर्देशन भएको भन्दै असुल गर्ने प्रयास गरेको आरोप छ।

कुम्हालटोलस्थित द चिल्ड्रेन गार्डेन मन्टेसरीकी सञ्चालिका रोशनी श्रीवास्तवका अनुसार विद्यालयको फोहोर विगत ७ दिनदेखि उठाइएको छैन। डस्टबिनमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको र यसले विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्ने जोखिम बढेको उनले बताइन्।

श्रीवास्तवका अनुसार उनी एक साताका लागि भारत गएको बेला विद्यालयको फोहोर नियमित रूपमा नउठेको थियो। फर्किएपछि विद्यालय परिसरमा फोहोर थुप्रिएको देखेपछि कर्मचारीसँग बुझ्दा फोहोर उठाउने टोलीले हरेक हप्ता व्यक्तिगत रूपमा पैसा माग्ने गरेको र रकम नदिएपछि फोहोर नउठाएको जानकारी पाएको उनको दाबी छ।

“विद्यालयमा साना बालबालिका अध्ययन गर्छन्। फोहोरका कारण संक्रमण फैलिने जोखिम बढेको छ। भोलिका दिनमा कुनै विद्यार्थीलाई स्वास्थ्य समस्या भए त्यसको जिम्मेवारी कसले लिने?” उनले प्रश्न गरिन्।

स्थानीयवासीका अनुसार फोहोर उठाउने ट्याक्टरका चालक र उनीसँगै आएका व्यक्तिहरूले रकम माग्दै त्यसलाई महानगरपालिकाको निर्देशन भएको बताउने गरेका छन्। सार्वजनिक भएको भिडियोले पनि फोहोर संकलन प्रक्रियामाथि प्रश्न उठाएको छ।

स्थानीय तथा विद्यालय प्रशासनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न, नियमित फोहोर संकलनको व्यवस्था मिलाउन र यस्ता गतिविधि दोहोरिन नदिन वीरगञ्ज महानगरपालिका तथा वडा नं. ७ कार्यालयसँग माग गरेका छन्।

यस विषयमा वीरगञ्ज महानगरपालिका र वडा कार्यालयको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ।

Leave A Reply

Your email address will not be published.