वीरगन्ज–१५ मा सामाजिक सेवाबाट चर्चामा शिवशंकर यादव, वडा अध्यक्षको उम्मेदवारीका लागि स्थानीयको आग्रह

7

वीरगन्ज आनन्द पटेल । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का स्थानीयवासीबीच शिवशंकर यादवको चर्चा बढ्न थालेको छ। लामो समयदेखि वडामा निरन्तर सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका यादवलाई स्थानीयले आगामी स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारका रूपमा अघि आउन आग्रह गर्न थालेका छन्।

यादवले आफ्नो क्षेत्रमा खानेपानीको समस्या समाधानदेखि युवा तथा खेलकुदका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यक्रम लगायत सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। स्थानीयका अनुसार टोलमा सामाजिक सद्भाव, आपसी भाइचारा तथा सामाजिक मूल्य–मान्यता कायम राख्न समेत यादवले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

उनको निरन्तर सामाजिक सक्रियता र योगदानको कदर गर्दै स्थानीय बुद्धिजीवी, युवा तथा महिलाहरूले अब वडाको नेतृत्व समेत सम्हाल्नुपर्ने धारणा राख्न थालेका छन्। विशेषगरी युवाहरूले यादवलाई राजनीतिक यात्रामा खुलेर अघि बढ्न आग्रह गरिरहेका छन्।

यादव यस अघि विभिन्न स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका क्रममा विभिन्न राजनीतिक दललाई समर्थन तथा सहयोग गर्दै राजनीतिक गतिविधिमा समेत सहभागी हुँदै आएका छन्। यही अनुभव र सामाजिक क्षेत्रमा गरेको सक्रियतालाई आधार बनाउँदै स्थानीयले अब वडाको नेतृत्व युवाको हातमा आउनुपर्ने र त्यसका लागि शिवशंकर यादव उपयुक्त विकल्प हुन सक्ने बताएका छन्।

यता, वडा अध्यक्षको उम्मेदवारीबारे यादवसँग बुझ्दा उनले आफूले अहिलेसम्म कुनै चुनावी तयारी नगरेको स्पष्ट पारे। तर पछिल्ला केही दिनदेखि स्थानीय बुद्धिजीवी, युवा तथा महिलाहरूले आफूलाई वडा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिन निरन्तर आग्रह गरिरहेको उनले बताए।

“अहिले मेरो कुनै चुनावी तयारी छैन। तर स्थानीय बुद्धिजीवी, युवा, महिला लगायतले केही दिनदेखि वडा अध्यक्षको चुनाव लड्न आग्रह गरिरहनु भएको छ,” यादवले भने, “यदि उपयुक्त वातावरण बन्यो र सबैको साथ–सहयोग रहने अवस्था आयो भने चुनावी मैदानमा आउन सक्ने सम्भावना छ।”

स्थानीयको बढ्दो आग्रहसँगै यादव आगामी स्थानीय निर्वाचनमा वडा नम्बर १५ बाट सम्भावित उम्मेदवारका रूपमा अघि आउन सक्ने चर्चा सुरु भएको छ। यद्यपि, उनको उम्मेदवारीबारे अन्तिम निर्णय भने यादव स्वयंले उपयुक्त समय र परिस्थिति अनुसार गर्ने देखिएको छ।

Leave A Reply

Your email address will not be published.