वीरगञ्जमा प्याब्सनको लिगेसी अवार्ड, शिक्षा क्षेत्रमा योगदान गर्ने तीन जना सम्मानित

105

वीरगञ्ज, चैत्र २९

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको आयोजनामा ‘लिगेसी अवार्ड २०८२’ वीरगञ्जस्थित होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ।

प्याब्सनलाई आजको उचाइसम्म पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा तीन जना व्यक्तित्वलाई ‘लिगेसी अवार्ड’ प्रदान गरिएको प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले जानकारी दिए।

अवार्डबाट वीरगञ्जस्थित लिटल एन्जल्स विद्यालयका संस्थापक मनी कुमार लामा सम्मानित भएका छन्। त्यसैगरी प्याब्सनका केन्द्रीय सदस्य लालबाबु प्रसाद कुर्मी र प्याब्सन पर्साका श्याम कुमार केसीलाई पनि सोही अवार्डबाट सम्मान गरिएको छ।

निजी विद्यालय क्षेत्रको विकास र विस्तारमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पशुपति विक्रम साह, उषा देवी साह, मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, डा. हरिशंकर साह, केन्द्रीय सदस्य छेदोप लामा, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, शिक्षा शाखा प्रमुख आनन्द लामिछाने, महानगर उपाध्यक्ष हरिश्याम ठाकुर, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, मधेश प्रदेशका उपाध्यक्ष पुराण प्रधान, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह लगायत वीरगञ्जका विभिन्न निजी विद्यालयका सञ्चालकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।

Leave A Reply

Your email address will not be published.