नेशनल मेडिकल कलेजद्वारा बारा मा बृहत स्वास्थ्य शिविर आयोजना,१०८२ जनाले पाए सेवा
समाचार:
हरनैया, १२ वैशाख — बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जको आयोजनामा वैशाख ११ गते बृहत निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। बिहान ९:३० बजेदेखि सञ्चालन गरिएको उक्त शिविरमा ग्रामीण भेगका नागरिकहरूलाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिएको थियो।
शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, ECG, ECHO तथा USG सेवा उपलब्ध गराइएको थियो। जनरल फिजिसियन, मुटु रोग, छाला रोग, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नशा, बाल रोग र रेडियोलोजी लगायतका विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो।
उक्त शिविरबाट कुल १०८२ जना बिरामीहरूले प्रत्यक्ष लाभ लिएका छन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसिया, स्वास्थ्य शाखा प्रमुख पारस राय यादव तथा संयोजक रमाकान्त साहको उपस्थिति रहेको थियो। नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारीसहित चिकित्सक तथा प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो।
यसै अवसरमा आदर्श कोतवाल गाउँपालिका र नेशनल मेडिकल कलेजबीच स्वास्थ्य सेवाको विस्तार तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ।
“सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म” भन्ने लक्ष्यसहित आयोजना गरिएको शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ।