जेसीज सप्ताह २०२६” भव्य समापन : वीरगञ्ज जेसीजको ‘जेसीज साँझ’ उत्साहका साथ सम्पन्न

71

वीरगञ्ज । वीरगञ्ज जेसीजद्वारा आयोजित साप्ताहिक उत्सव “जेसीज सप्ताह २०२६” अन्तर्गतको समापन समारोह तथा “जेसीज साँझ” आज भव्य रूपमा सम्पन्न भएको छ।

वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्व तथा हेटौंडा लेडी जेसीजकी पूर्व अध्यक्ष एवं नेपाल जेसीजकी पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा संस्थापक अध्यक्ष जेसीआई सिनेटर पशुपति विक्रम शाह, पूर्व अध्यक्षहरू जेसी मधु राणा, जेसी उषा शाह, जेसी जितेन्द्र पुरुष ढकाल, जेसी अमर बहादुर गौतम तथा जेसीआई सिनेटर गणेशमान श्रेष्ठको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा हेटौंडा जेसीजका अध्यक्ष जेसीआई सिनेटर सन्तोष पराजुली, हेटौंडा लेडी जेसीजकी अध्यक्ष जेसी नम्रता श्रेष्ठ तथा सिमरा जेसीजका अध्यक्ष जेसी सुमित अधिकारीलगायत अतिथिहरूले सप्ताहव्यापी कार्यक्रमको सफलताप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

सप्ताहअन्तर्गत वैशाख १ गते नयाँ वर्षको शुभकामना आदान–प्रदान, वैशाख २ गते युवाहरूका लागि सार्वजनिक बोलाइ तालिम, वैशाख ३ गते बाल सुधार गृहमा निःशुल्क दन्त परीक्षण, वैशाख ४ गते मानसिक स्वास्थ्य सचेतना, वैशाख ५ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता तथा वैशाख ६ गते नारायणी अस्पतालमा बिरामीहरूलाई फलफूल वितरणजस्ता कार्यक्रमहरू सम्पन्न भएका थिए।

समारोहमा वीरगञ्जको वर्तमान भौतिक क्षति र बेरोजगारी समस्याप्रति चिन्ता व्यक्त गर्दै चुनौती पार गर्दै शहरलाई नयाँ स्वरूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको थियो। सप्ताहभरका कार्यक्रम संयोजकहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको कार्यक्रममा संयोजन जेसी रन्धिर बर्नवालले तथा सञ्चालन सह–महासचिव जेसी अंकिता कुशवाहाले गर्नुभएको थियो।

कार्यक्रमको अन्त्य हर्षोल्लासका साथ रात्रीभोजसहित गरिएको थियो।

Leave A Reply

Your email address will not be published.