वीरगञ्जमा सडक विस्तारका लागि नापजाँच कार्य मंगलबारदेखि औपचारिक रूपमा अघि बढ्ने

74

वीरगञ्ज, १४ वैशाख । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथको मापदण्ड अनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्ने कार्य मंगलबारदेखि सुरु हुने भएको छ।

सोमबार वीरगञ्ज महानगरपालिकामा बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन केन्द्रविन्दु निर्धारण गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो। महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए।

हालसम्म सडक विस्तार अभियानअन्तर्गत सडकछेउका केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नभएका कारण स्थानीय बासिन्दामा अन्योलता देखिएको थियो। विशेषगरी “कहाँसम्म संरचना हटाउनुपर्ने हो ?” भन्ने विषयमा स्थानीयले लगातार चासो र जिज्ञासा राख्दै आएका थिए।

अब भने त्रिभुवन राजपथको आधिकारिक नक्सा अनुसार सडकको केन्द्रविन्दु पहिचान गरिनेछ। केन्द्रविन्दु निर्धारण भएपछि दायाँ–बायाँ बराबर दूरी कायम गरी सडकको चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ। यसले सडक विस्तार कार्यलाई थप पारदर्शी, व्यवस्थित र विवादरहित बनाउने अपेक्षा गरिएको छ।

नापजाँचका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराउनेछ भने नक्सा तथा मापनसम्बन्धी कार्य नापी कार्यालय पर्साले गर्नेछ।

सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर भोला प्रसाद साहका अनुसार मंगलबार बिहानदेखि नापजाँचको कार्य औपचारिक रूपमा सुरु हुनेछ। साथै, नापजाँच तथा कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउन सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकाको संयुक्त कार्यदलसमेत गठन गरिएको उनले जानकारी दिए।

उक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्मका सबै चरणमा समन्वय र सहकार्य गर्नेछ।

यसअघि सडक फराकिलो बनाउने क्रममा सडक डिभिजन कार्यालयले गत आइतबार गण्डकदेखि भन्सारसम्मका क्षेत्रमा रहेका घरटहरामा डोजर चलाएको थियो।

Leave A Reply

Your email address will not be published.