इण्डोनेशियामा रेल दुर्घटना, १४ जनाको मृत्यु

39

एजेन्सी । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तस्थित बेकासी शहरमा भएको भीषण रेल दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

अधिकारीहरूका अनुसार सोमबार राति बेकासी तिमुर स्टेशन नजिक भएको दुर्घटनामा लामो दूरीको रेलले यात्रुबाहक कम्यूटर रेललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनापछि रेलका धेरै डिब्बा क्षतिग्रस्त भएका छन्।

प्रारम्भिक जानकारीअनुसार कम्यूटर रेलले ट्र्याकमा रहेको एउटा ट्याक्सीलाई ठक्कर दिएपछि रोकिएको अवस्थामा पछाडिबाट आएको अर्को रेल ठोक्किएको बताइएको छ।

सरकारी रेलवे कम्पनीले हालसम्म १४ जनाको मृत्यु पुष्टि गर्दै शव आफन्तलाई बुझाइसकिएको जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

Leave A Reply

Your email address will not be published.