१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाइँदै
काठमाडौं । आज मे १ तारिखका दिन १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकारको सुनिश्चितताका लागि हरेक वर्ष मे १ मा यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरहरूले यस दिनलाई पर्वका रूपमा मनाउँदै आफ्ना हक–अधिकारको सुनिश्चितताका लागि सरकार तथा रोजगारदातामाथि दबाब सिर्जना गर्ने उद्देश्य राख्ने गरेका छन् ।
सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा “आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम” भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने परम्परा सुरु भएको हो ।
नेपालमा भने २००७ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको इतिहास छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि श्रमिक दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिन सुरु गरेको थियो ।
यस वर्ष पनि सरकारले श्रमिक दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ ।