मितेरी पुलमा समाचार संकलनका क्रममा पत्रकार सञ्जय कुशवाहा माथि दुर्व्यवहार, चौतर्फी विरोध
वीरगञ्ज, वैशाख २९ — वीरगञ्जस्थित मितेरी पुल क्षेत्रमा समाचार संकलन गरिरहेका एक सञ्चारकर्मीमाथि सशस्त्र प्रहरीले दुर्व्यवहार, हातपात तथा सञ्चार उपकरण कब्जा गरेको घटनाप्रति चौतर्फी विरोध सुरु भएको छ। अग्निपथ मिडियामा कार्यरत सञ्चारकर्मी सञ्जय कुशवाहामाथि सार्वजनिक स्थलमै अभद्र व्यवहार गरिएको भन्दै घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमणका रूपमा हेरिएको छ।
सोमबार बेलुका करिब ५ बजे मितेरी पुल क्षेत्रमा भारतीय अटोरिक्सा चालक र सशस्त्र प्रहरीबीच विवाद तथा झडप भएको थियो। प्रत्यक्षदर्शीका अनुसार सिभिल पोशाकमा रहेका सशस्त्र प्रहरीका व्यक्तिहरूले चालकहरूमाथि अन्धाधुन्ध लाठी प्रहार गर्दै भारततर्फ लखेटेका थिए। केही चालकलाई नियन्त्रणमा लिएर गाडीमा राख्ने क्रममा पत्रकार कुशवाहाले उक्त दृश्य क्यामेरामा कैद गर्न खोज्दा उनीमाथि आक्रमण भएको बताइएको छ।
घटनासम्बन्धी जारी विज्ञप्ति अनुसार वीरगञ्ज गुल्म भन्सारका डिएसपी विकास अधिकारीका कार्यालय सहयोगी बासु भुजेल र ए प्रेमु नाम गरेका सिभिल स्टाफले पत्रकार कुशवाहामाथि गालीगलौज तथा हातपात गरेका थिए। उनीहरूले पत्रकारको मोबाइलसमेत जबरजस्ती नियन्त्रणमा लिएर समाचार संकलनमा अवरोध पुर्याएको आरोप लगाइएको छ।
अग्निपथ मिडियाका सम्पादक बिराज यादवले विज्ञप्ति जारी गर्दै उक्त घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो चुनौती भएको बताएका छन्।
“सार्वजनिक स्थलमै सुरक्षाकर्मीबाट पत्रकारमाथि हातपात हुनु र मोबाइल खोसिनु अधिनायकवादी प्रवृत्तिको उदाहरण हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
अग्निपथ मिडियाले घटनामा संलग्न कर्मचारीमाथि तत्काल निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न, कब्जामा लिइएको मोबाइल फिर्ता गर्न तथा सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ। घटनालाई ढाकछोप गर्ने प्रयास भए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ।
उक्त घटनाप्रति वीरगञ्जका पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सञ्चारसम्बद्ध संस्थाहरूले पनि भर्त्सना जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।