मधेशका प्रणेता स्व. रामजन्म तिवारीको २७औँ स्मृति दिवस वीरगञ्जमा सम्पन्न
वीरगञ्ज, २९ बैशाख ।
मधेशका प्रणेता स्वर्गीय रामजन्म तिवारीको २७औँ स्मृति दिवस वीरगञ्जमा श्रद्धा र सम्मानका साथ मनाइएको छ। वीरगञ्जको घण्टाघरस्थित स्व. तिवारीको आदमकद सालिक प्राङ्गणमा आयोजित कार्यक्रममा प्रोफेसर भाग्यनाथ गुप्ताको अध्यक्षता रहेको थियो।
स्मृति दिवस कार्यक्रममा मधेशवादी अभियन्ता तथा अधिवक्ता सुरेन्द्र कुर्मी, अधिवक्ता पन्नालाल गुप्ता, शशी कपूर मियाँ, नेजामुदिन समानी, शिव पटेल, शम्भु गुप्ता, श्याम गुप्ता, स्व. तिवारीका सुपुत्र अखिलेश तिवारी, पौत्रद्वय अभिनन्दन पाठक तथा अधिवक्ता आशुतोष तिवारी, परिवारजन, अनुयायी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले स्व. तिवारीको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा अधिकार सम्पन्न मधेश, समुन्नत समाज र समृद्ध नेपाल निर्माणका लागि उहाँले देखाएको मार्गमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
कार्यक्रममा बोल्दै अधिवक्ता सुरेन्द्र कुर्मीले स्व. तिवारीको राजनीतिक संघर्ष र मधेशी समुदायको अधिकार स्थापनामा उहाँले खेलेको भूमिकाको चर्चा गरे। उनले मधेशी समुदायको राष्ट्रिय राजनीतिमा पहुँच विस्तार हुनुमा स्व. तिवारीको योगदान ऐतिहासिक रहेको बताए।
उनका अनुसार स्व. तिवारीले २००७ सालको क्रान्तिदेखि पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका थिए। पटक–पटक जेल जीवन बिताउनुपरे पनि उहाँ आफ्नो अडानमा दृढ रहनुभएको कुर्मीले बताए। २०४६ सालको जनआन्दोलनमा समेत उहाँ अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, नेपाल सद्भावना पार्टी गठनमार्फत मधेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न उहाँले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कुर्मीले मन्त्री बन्ने अवसर हुँदा पनि आफूभन्दा गजेन्द्र नारायण सिंहलाई अगाडि सारेर त्याग र समर्पणको उदाहरण प्रस्तुत गरेको बताए।
कार्यक्रमका अध्यक्ष प्रो. भाग्यनाथ गुप्ताले २००७ सालदेखि नै मधेशी जनताको अधिकारका लागि बुलन्द आवाज उठाउने पहिलो योद्धा स्व. रामजन्म तिवारी रहेको बताए। उनले स्व. तिवारीको संघर्षकै कारण मधेशी समुदायले आज अधिकार प्राप्त गर्न सफल भएको धारणा व्यक्त गरे।
गुप्ताले पञ्चायती शासनकालमा मधेशविरुद्ध ल्याइएका विभेदकारी नीतिको स्व. तिवारीले सशक्त विरोध गरेको स्मरण गर्दै भाषा, संस्कृति, पहिचान र अधिकारको संरक्षणका लागि उहाँ जीवनभर संघर्षरत रहेको बताए।
“स्व. बाबा आज शारीरिक रूपमा हामीबीच नरहे पनि उहाँका विचार, संघर्ष र योगदान सदैव जीवित रहनेछन्,” गुप्ताले भने।
कार्यक्रममा स्वागत मन्तव्य स्व. तिवारीका पौत्र अधिवक्ता आशुतोष तिवारीले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंहले गरेका थिए।