लैङ्गिक हिंसा रोकथामका लागि सामूहिक अभियान आवश्यक : सरोकारवालाहरू

65

पकहामैनपुर, पर्सा । पकहामैनपुर गाउँपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा महिला सुरक्षासम्बन्धी सरोकारवालाहरूबीच अन्तरक्रिया तथा समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले लैङ्गिक हिंसा रोकथाम सञ्जालको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आसमान नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा समाजमा बढ्दो लैङ्गिक विभेद, महिला हिंसा, घरेलु हिंसा, बालविवाह, दाइजो प्रथा लगायतका सामाजिक विकृतिविरुद्ध सामूहिक रूपमा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो।

आसमान नेपालकी कार्यक्रम संयोजक शरस्वती दनुवारको अध्यक्षता तथा गाउँपालिकाकी उपप्रमुख सरफुन नेसा खातुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै उपप्रमुख खातुनले लैङ्गिक हिंसा सम्पूर्ण समाजको चुनौती भएको उल्लेख गर्दै हिंसामुक्त समाज निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन्। उनले सचेतना, शिक्षा, कानुनी पहुँच र समुदायस्तरीय निगरानीलाई प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरिन्।

त्यसैगरी कार्यक्रम संयोजक दनुवारले लैङ्गिक हिंसा रोकथामका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै समुदायस्तरबाट व्यवहार परिवर्तन आवश्यक रहेको बताइन्। उनले पीडितले खुला रूपमा बोल्न सक्ने वातावरण निर्माण गर्नुपर्ने र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय कायम गर्नुपर्नेमा जोड दिइन्।

अन्तरक्रियामा सहभागीहरूले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाको न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चार क्षेत्र तथा समुदायबीच सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए। साथै विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, पीडितमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउनुपर्ने तथा स्थानीय समुदायलाई थप जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम सञ्जाललाई थप सक्रिय बनाउने, सम्बन्धित निकायहरूबीच नियमित समन्वय गर्ने तथा हिंसाविरुद्ध सामूहिक अभियान सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले महिला तथा बालिकाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

Leave A Reply

Your email address will not be published.