पर्सामा सशस्त्र प्रहरीद्वारा २१ लाख ३९ हजार भन्दा बढीका अवैध सामान बरामद

11

वीरगञ्ज, साउन ८

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा गस्तीका क्रममा २१ लाख ३९ हजार ६५५ रुपैयाँ बराबरका अवैध सामान, ई–लोडर, मोटरसाइकल र साइकल बरामद गरी भन्सार कार्यालय बुझाएको छ।

सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१७ अलौस्थित सीमा सुरक्षा गुल्मबाट खटिएको मोबाइल टोलीले भारतबाट भन्सार छली गरी प्र.२–०३–००१ स ६०९७ नम्बरको ई–लोडरमा ल्याइँदै गरेको १२ लाख ७५ हजार रुपैयाँ बराबरको ८ कार्टुन भिटामिन औषधि बरामद गरेको हो। साथै ना.२६ प २०१८ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको ३१ हजार ९१५ रुपैयाँ बराबरको किराना सामान पनि नियन्त्रणमा लिइएको छ।

बरामद गरिएको ई–लोडरको मूल्य ४ लाख रुपैयाँ र मोटरसाइकलको मूल्य २ लाख रुपैयाँसहित कुल १९ लाख ६ हजार ९१५ रुपैयाँ बराबरको सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा खटिएको चेकपोस्ट टोलीले विभिन्न सवारी साधन जाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको १ लाख ४५ हजार ४ सय रुपैयाँ बराबरको ESSDEE ब्रान्डका कपडा, स्टेशनरी तथा हार्मोनियम बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

यस्तै, बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित बीओपी अमरपट्टीबाट खटिएको टोलीले चार वटा साइकलमा ल्याइँदै गरेको ४७ हजार २ सय रुपैयाँ बराबरका मोटर पार्ट्स, कपडा र किराना सामान तथा ८ हजार रुपैयाँ मूल्यका चारवटा साइकलसहित कुल ५५ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

छिपहरमाई गाउँपालिका–५ भिस्वास्थित बीओपी भिस्वाबाट खटिएको टोलीले पनि भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ३२ हजार १४० रुपैयाँ बराबरका कस्मेटिक तथा किराना सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए।

Leave A Reply

Your email address will not be published.