बीमा सेवाका बिरामी बढ्दा नारायणी अस्पतालमा चाप, सेवा व्यवस्थापन चुनौतीपूर्ण
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार गराउने सेवाग्राहीको सङ्ख्या बढेसँगै अस्पतालको सेवा व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।
सरकारले जेठ १६ गतेदेखि आपत्कालीन अवस्थाबाहेक निजी स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बीमा अन्तर्गतको उपचार सेवा स्थगित गरेपछि बीमित बिरामीहरू सरकारी अस्पतालतर्फ केन्द्रित हुन थालेका हुन्। यसअघि बीमा सेवा प्रदान गर्दै आएका नेशनल मेडिकल कलेज र वीरगञ्ज हेल्थकेयर अस्पतालमा उक्त सेवा बन्द भएपछि अधिकांश सेवाग्राही नारायणी अस्पतालमै उपचारका लागि पुग्न थालेका छन्।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बीमा सेवाका बिरामी थपिएसँगै अस्पतालमा दैनिक आउने सेवाग्राहीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको बताए। उनका अनुसार पहिलेदेखि नै उच्च बिरामी चाप रहेको अस्पतालमा अहिले थप दबाब सिर्जना भएको छ।
बिरामी तथा आफन्तहरूले अस्पतालमा उपचार सेवा उपलब्ध भए पनि आवश्यक औषधि सहज रूपमा नपाइने गुनासो गरेका छन्। अस्पतालभित्रको फार्मेसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा अधिकांश बिरामी बाहिरबाट महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
त्यस्तै, विभिन्न वार्डमा शय्या अभावको समस्या पनि गम्भीर बन्दै गएको छ। एक बिरामी डिस्चार्ज भएपछि भर्नाका लागि धेरै बिरामीले पालो कुर्नुपर्ने अवस्था रहेको सेवाग्राहीहरूले बताएका छन्।
बढ्दो भीडभाडसँगै अस्पताल परिसरमा दलालहरूको गतिविधि बढेको आरोपसमेत लागेको छ। शय्या अभावको बहाना बनाएर केही व्यक्तिले बिरामीलाई निजी अस्पतालतर्फ लैजाने तथा महँगो उपचार गराउन दबाब दिने गरेको गुनासो पनि बढ्न थालेको छ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालमा देखिएको अनियमितता नियन्त्रण गर्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको हो। तर त्यसको प्रत्यक्ष प्रभाव सरकारी अस्पतालहरूमा देखिन थालेको छ।
स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य सफल बनाउन सरकारी अस्पतालहरूको क्षमता विस्तार, पर्याप्त औषधि व्यवस्थापन, आवश्यक जनशक्ति थप तथा दलाल गतिविधि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन्। बढ्दो बिरामी चापका बीच नारायणी अस्पताल र सरकार दुवैले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने देखिएको छ।