श्रीपुर पञ्चगावामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४८२ जना लाभान्वित
सखुवा प्रसौनी, २४ जेठ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर पञ्चगावामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सखुवा प्रसौनी गाउँपालिकाको समन्वय, पर्सा ख्रिष्टियन समाज वीरगञ्जको आयोजना तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जको प्राविधिक सहयोगमा श्री दीप नारायण आदर्श नमुना माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो।
शिविरबाट ४ सय ८२ जना बिरामीले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएको पर्सा ख्रिष्टियन समाजका कोषाध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिनुभयो।
शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति रोग तथा जनरल मेडिसिन सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि वितरण गरिएको नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर जितेश चन्द्र दासले बताउनुभयो। साथै रक्तचाप, मधुमेह, नाडी परीक्षण, तौल मापन, इसिजी (ECG) र ईको लगायतका परीक्षण सेवासमेत उपलब्ध गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले आर्थिक रूपमा कमजोर तथा अस्पतालसम्म पुग्न कठिनाइ भएका नागरिकका लागि शिविर निकै प्रभावकारी बनेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेशनल मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेनले ग्रामीण क्षेत्रमा मुटुरोग तथा अन्य जटिल रोगबारे जनचेतनाको अभाव रहेको उल्लेख गर्दै शिविरमार्फत धेरै बिरामीमा समयमै रोग पहिचान गर्न सहयोग पुगेको बताउनुभयो। उहाँले सामाजिक तथा मानवीय सेवाका यस्ता कार्यक्रमहरूमा कलेजको सहयोग निरन्तर रहने जानकारी दिनुभयो।
यसै अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र सखुवा प्रसौनी गाउँपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। साथै नेशनल मेडिकल कलेज र पर्सा ख्रिष्टियन समाजबीच पनि छुट्टै स्वास्थ्य सहकार्य सम्झौता भएको छ।
सम्झौताअनुसार शिविरमा सहभागी बिरामीहरूले नेशनल मेडिकल कलेजमा थप उपचार गराउँदा २० प्रतिशतसम्म विशेष छुट पाउने व्यवस्था गरिएको छ।
पर्सा ख्रिष्टियन समाजका अध्यक्ष सिमोन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष रामप्रसाद घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट, स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो।
शिविरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रज किशोर चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दाससहित मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवि कुमार साह र जनरल फिजिसियन डा. प्रवेज आलम अन्सारीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो।