बाल अधिकारमैत्री पत्रकारितामा जोड, वीरगञ्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया

96

वीरगञ्ज । बाल अधिकार संरक्षण तथा संवर्द्धनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार वीरगञ्जमा सम्पन्न भएको छ। युवालयको आयोजनामा भएको कार्यक्रममा बालबालिकासँग सम्बन्धित विषयवस्तुको समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले विशेष संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइएको छ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा प्रमुख आनन्द लामिछानेले बालबालिकाको अधिकार, गोपनीयता र सम्मानलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नुपर्ने बताए। उनले विद्यालय तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित समाचार प्रकाशन र प्रसारण गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालअधिकारसम्बन्धी मापदण्डको पालना आवश्यक रहेको उल्लेख गरे।

लामिछानेले पछिल्लो समय केही सञ्चारमाध्यममा बालबालिकाको पहिचान खुल्ने गरी समाचार र दृश्य सामग्री सार्वजनिक भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता कार्यले बालअधिकार उल्लंघन हुने जोखिम बढाउने बताए। उनले सञ्चारकर्मीहरूलाई जिम्मेवार र बालमैत्री पत्रकारिताको अभ्यास गर्न आग्रह गरे।

उनले वीरगञ्ज महानगरपालिकाले निकट भविष्यमा ‘साक्षर महानगर’ घोषणा गर्ने तयारी गरिरहेको जानकारी पनि दिए। महानगरका अधिकांश वडा साक्षर घोषणा भइसकेको र बाँकी वडाहरूमा प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए।

कार्यक्रमका प्रशिक्षक रामप्रवेश साहले मधेश प्रदेशको शैक्षिक अवस्था, बाल अधिकारको कार्यान्वयन तथा बालमैत्री वातावरण निर्माणका विषयमा प्रस्तुति दिएका थिए। उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न सञ्चारमाध्यम, स्थानीय तह, विद्यालय र अभिभावकबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखे।

अन्तरक्रियामा सहभागी पत्रकारहरूले बाल अधिकार संरक्षणमा सञ्चारमाध्यमको भूमिका, जिम्मेवारी तथा विद्यमान चुनौतीबारे विचार व्यक्त गरेका थिए। उनीहरूले तथ्यपरक, उत्तरदायी र बालमैत्री पत्रकारितामार्फत बालअधिकार प्रवर्द्धनमा सक्रिय योगदान दिने प्रतिबद्धता जनाएका थिए।

वीरगञ्जस्थित होटल वृन्दावनमा आयोजित कार्यक्रममा युवालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन युवालयका पर्सा प्रतिनिधि राहुल साहले गरेका थिए।

Leave A Reply

Your email address will not be published.