भारतीय महावाणिज्य दूतावासद्वारा विश्व रक्तदाता दिवसमा रक्तदान शिविर, ४६ जनाले गरे रक्तदान
वीरगञ्ज, असार १ आनन्द पटेल— विश्व रक्तदाता दिवस २०२६ को अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल–भारत मैत्री संघ (निफा) पर्सा, नेपाल इनोभेटिभ सोसाइटी, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज तथा नेपाल युवा उद्यमी मञ्च वीरगञ्जको सहकार्यमा रक्तदान शिविर आयोजना गरेको छ।
महावाणिज्य दूतावास परिसरमा सम्पन्न शिविरमा स्थानीय नागरिक, युवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उत्साह जनक सहभागिता रहेको थियो। शिविरमा ३ जना महिला सहित कुल ४६ जनाले स्वेच्छिक रक्तदान गर्दै मानव सेवाको अभियानमा योगदान पुर्याएका थिए।

कार्यक्रमका अवसरमा भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले रक्तदाताहरूसँग भेटघाट गर्दै उनीहरूको योगदानको प्रशंसा गरे। उनले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवामध्ये एक भएको उल्लेख गर्दै यसले आवश्यकतामा रहेका बिरामीलाई नयाँ जीवन प्रदान गर्ने बताए। “रक्तदाताहरूको निस्वार्थ योगदान समाजका लागि प्रेरणादायी छ र मानव सेवाको उत्कृष्ट उदाहरण हो,” उनले भने।
शिविरमा कमल चौगाई, धिरज कुमार साह, राहुल साह, पूजा कुमारी चौधरी, गंगाराम महतो, सुनिल कुमार सर्राफ, सुनिल यादव, अनामिका कुमारी पटेल लगायतले रक्तदान गरेका थिए। कार्यक्रममा समाजसेवी सञ्जु कुमार साह, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि तथा स्वयंसेवकहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।
यस अवसरमा लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज एवं भारत विकास परिषद् रक्सौलका सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल सर्राफले भविष्यमा पनि महावाणिज्य दूतावाससँग सहकार्य गर्दै सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
भारतीय महावाणिज्य दूतावासले रक्तदान शिविर सफल बनाउन सहयोग गर्ने सबै साझेदार संस्था, रक्तदाता तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मानवता र समाज कल्याणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।