वीरगञ्जमा उत्साहजनक सहभागिताबीच लायन्स म्याराथन सम्पन्न
वीरगञ्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश दिने उद्देश्यले वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।
लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माई, लायन्स क्लब अफ वीरगञ्ज नवदिप एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगञ्ज प्रिन्टोपैक, लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम र लियो क्लब अफ वीरगञ्जको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।
वीरगञ्जको घण्टाघरबाट सुरु भएको म्याराथन रेल्वेरोड हुँदै अमरचोक पुगेर पुनः घण्टाघरमा आएर समापन भएको थियो। प्रतियोगितामा वीरगञ्जका विभिन्न कलेजका विभिन्न उमेर समूहका धावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धावकहरूले उत्साह र प्रतिस्पर्धात्मक भावनाका साथ दौड पूरा गर्दै स्वस्थ तथा सक्रिय जीवनशैलीको सन्देश दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले म्याराथनजस्ता कार्यक्रमले युवालाई खेलकुद र सकारात्मक गतिविधितर्फ आकर्षित गर्नुका साथै स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। युवाको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माण तथा सामाजिक सेवामा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले लायन्स क्लबले सामाजिक सेवासँगै स्वास्थ्य, युवा तथा खेलकुदका क्षेत्रमा समेत निरन्तर गतिविधि गर्दै आएको बताए। म्याराथनले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै युवामा अनुशासन, आत्मविश्वास, सकारात्मक सोच र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
प्रतियोगिताको पुरुषतर्फ डेसिमल कलेजका इमाम हुसेन प्रथम, बीपीएस कलेजका विक्की कुमार यादव द्वितीय र सोही कलेजका अर्जुन कुमार तृतीय भए।
महिलातर्फ बीपीएस कलेजकी उमा कुमारी शर्मा प्रथम, हरिखेतान कलेजकी पुष्पा कुमारी गुप्ता द्वितीय र सोही कलेजकी आशा कुमारी साह तृतीय भए। उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्दप्रसाद कानुको नेतृत्वमा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ लायन आश्मा सिंह यादव र लायन विजय गुप्ता, एरिया चिफ लायन सुनिल कुमार गुप्ता, एरिया सेक्रेटरी लायन सल्मा खातुन, जोन चेयरपर्सन लायन सुशीला साहलगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।
कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक चन्द्रकान्त पौडेल, नेपाल प्रहरीका प्रहरी निरीक्षक पदम पाण्डे, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलप्रेमी तथा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
म्याराथनले ‘स्वस्थ समाज, सक्रिय युवा र सामाजिक सेवा’ को सन्देश प्रवाह गर्दै वीरगञ्जमा खेलकुद तथा सामाजिक सेवाका क्षेत्रमा सकारात्मक ऊर्जा थपेको आयोजकले जनाएको छ।