खाद्य गुणस्तर, स्वच्छता तथा अन्तर्राष्ट्रिय मापदण्डबारे आयातकर्ता–निर्यातकर्तालाई अभिमुखीकरण कार्यक्रम

14

वीरगञ्ज, असार ५ — खाद्य पदार्थको सुरक्षित आयात तथा निर्यातलाई प्रवर्द्धन गर्ने उद्देश्यले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ। “खाद्य सुरक्षा, सबैको व्यवसाय” भन्ने नारासहित आयोजित कार्यक्रममा खाद्य पदार्थ आयातकर्ता, निर्यातकर्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौंको आयोजनामा तथा वीरगञ्ज उद्योग वाणिज्य संघ, पर्साको सहकार्यमा सम्पन्न कार्यक्रममा खाद्य पदार्थको गुणस्तर, स्वच्छता मापदण्ड र आयात–निर्यात प्रक्रियामा अपनाउनुपर्ने सावधानीबारे विस्तृत छलफल गरिएको थियो।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा उद्योगी, व्यवसायी, भन्सार एजेन्ट, उपभोक्ता अधिकारकर्मी तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य पदार्थको आयात तथा निर्यातसँग सम्बन्धित कानुनी व्यवस्था, गुणस्तर परीक्षण, निरीक्षण प्रणाली तथा खाद्य व्यवसायीको दायित्वबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले खाद्य सामग्री आयात गर्नुअघि सम्बन्धित उत्पादनको गुणस्तर परीक्षण प्रतिवेदन र विश्लेषण प्रतिवेदन अध्ययन गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

छलफलका क्रममा व्यवसायीहरूले खाद्य सामग्रीको प्रयोगशाला परीक्षण र भन्सार प्रक्रियामा हुने ढिलाइका कारण आर्थिक क्षति व्यहोर्नुपरेको गुनासो गरेका थिए। विशेषगरी छिट्टै बिग्रिने खाद्य वस्तुको परीक्षण प्रतिवेदन समयमै उपलब्ध नहुँदा समस्या भइरहेको भन्दै परीक्षण तथा भन्सार प्रक्रियालाई थप सहज र द्रुत बनाउन सम्बन्धित निकायसँग माग गरेका थिए।

वक्ताहरूले खाद्य सुरक्षा सुनिश्चित गर्न आयातकर्ताले उत्पादनको गुणस्तरबारे पूर्व जानकारी लिनु आवश्यक रहेको बताउँदै जिम्मेवार र सचेत व्यवसायिक अभ्यास अपनाउन आग्रह गरेका थिए। कार्यक्रमले खाद्य सुरक्षा तथा गुणस्तरप्रति व्यवसायीहरूको ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.