सनसाइन बोर्डिङ स्कुलमा नयाँ विद्यार्थी नेतृत्वलाई ब्याच वितरण तथा शपथग्रहण
वीरगञ्ज, असार ६ – वीरगञ्ज महानगरपालिका–१४, पिप्रास्थित सनसाइन बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका विद्यार्थी नेतृत्वलाई ब्याच वितरण तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयकी प्रिन्सिपल निधि कुमारीको सभापतित्व तथा प्याप्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हेड गर्ल, हेड ब्वाय, स्कुल क्याप्टेन, ईसीए क्याप्टेन तथा विभिन्न हाउस क्याप्टेनहरूलाई ब्याच वितरण गरी पद तथा गोपनीयताको शपथ गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीवास्तवले छोटो समयमै सनसाइन बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षासँगै विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको भन्दै विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे। विद्यालयका सञ्चालक अमित आलोक तथा प्रिन्सिपल निधि कुमारीको नेतृत्वमा विद्यार्थी हितका लागि भइरहेको कार्य प्रशंसनीय रहेको उनको भनाइ थियो।
शपथ ग्रहण कार्यक्रममा स्कुल क्याप्टेन साक्षी पटेल, ईसीए क्याप्टेन खुसी पटेल, येलो हाउस क्याप्टेन रवि पटेल, ब्लु हाउस क्याप्टेन रोमा प्रजापति, रेड हाउस क्याप्टेन सन्ध्या प्रजापति, ग्रिन हाउस क्याप्टेन रागिनी पटेल लगायत विभिन्न कक्षाका मनिटरहरूलाई ब्याच वितरण गरिएको थियो। कक्षा १ देखि ८ सम्मका निर्वाचित मनिटरहरूलाई समेत जिम्मेवारी हस्तान्तरण गर्दै शपथ गराइएको विद्यालयले जनाएको छ।

कार्यक्रममा प्याप्सन महानगर कोषाध्यक्ष तथा मिनिल्याण्ड स्कुलका प्रिन्सिपल सुरज बाबु पटेल, प्याप्सन महानगर सदस्य तथा लिटल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय बल, लिटल एन्जल बोर्डिङ स्कुलका प्रिन्सिपल सन्नी पाख्रिन, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव, आइडियल एकेडेमीका प्रिन्सिपल सुमित कलवार तथा मिडिया संयोजक दिपु वर्णवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
स्वागत मन्तव्यका क्रममा विद्यालयका सञ्चालक अमित आलोकले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तित्व विकासका लागि विद्यालय निरन्तर क्रियाशील रहेको बताए। उनले विपन्न, दलित, अल्पसंख्यक, सहिद तथा घाइते परिवारका विद्यार्थीका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने जानकारी दिए।
विद्यालयका संयोजक दीपक कुसवाहाको समन्वयमा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षक विश्वम्भर वीर मल्लले गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।