वडा कार्यालयभित्रै अनिल पटेलमाथि कुटपिट, निष्पक्ष छानबिनको माग

10

वीरगञ्ज, असार ७ — वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित वडा समितिको कार्यालयमा छलफलका लागि बोलाइएका एक व्यक्तिमाथि आक्रमण भएको आरोप लागेको छ। घाइते भएका अनिल पटेल हाल वीरगञ्जस्थित अस्पतालमा उपचाररत रहेका छन्।

प्राप्त जानकारी अनुसार वडा समितिको बजेटबाट निर्माण हुन लागेको बाटोसम्बन्धी विषयमा छलफल गर्न अनिल पटेललाई फोन मार्फत वडा कार्यालयमा बोलाइएको थियो। छलफलका क्रममा वडा सचिव राजेश डंगोल तथा कार्यवाहक वडा अध्यक्ष देवकरण पटेलसँग कुराकानी भइरहेको बेला पूर्व वडा अध्यक्ष भरत प्रसाद कुर्मीका छोरा विशाल पटेलले अचानक मुक्का प्रहार गरी आक्रमण गरेको आरोप पीडित पक्षले लगाएको छ।

आक्रमणबाट अनिल पटेलको छाती, घाँटी, ढाड तथा कम्मरमा चोट लागेको बताइएको छ। उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित अस्पताल लगिएको थियो, जहाँ उनको उपचार भइरहेको जनाइएको छ।

घटनापछि प्रहरी घटनास्थलमा पुगेको र त्यहाँ जडान गरिएको सिसिटिभी फुटेजसमेत अवलोकन गरेको बताइएको छ। यद्यपि पीडित पक्षले आरोपितलाई तत्काल नियन्त्रणमा लिन आग्रह गर्दा पनि आवश्यक पहल नभएको आरोप लगाएका छन्।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीयवासी तथा पीडित पक्षले सम्बन्धित निकायसँग माग गरेका छन्। यस विषयमा प्रहरी तथा आरोपित पक्षको धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।

Leave A Reply

Your email address will not be published.