दाइजो विवादसँगै बाहिरी सम्बन्धको आरोप, नवविवाहिता हत्या भएको दाबी; निष्पक्ष छानबिनको माग

97

वीरगञ्ज, असार । पाँच महिना अघि मात्रै विवाह भएकी खुशबुन खातुनको दाइजोका कारण हत्या गरिएको आरोप लगाउँदै परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।

भारतको बिहार राज्य अन्तर्गत मैनाटार प्रखण्डको इनरवा निवासी पीडितका बुबा असरफ अलीले आइतबार रिपोर्टर्स क्लब नेपाल, वीरगञ्जले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै छोरीको हत्या दाइजो विवादकै कारण भएको दाबी गरे।

उनका अनुसार वीरगञ्ज महानगरपालिका–१३ राधेमाई निवासी ज्वाइँ अरवाज आलम, ससुरा आस महम्मद मियाँ र सासु तैमुल खातुनले मिलेर आफ्नी छोरी खुशबुनको हत्या गरेका हुन्।

अलीले विवाहपछि नै केटा पक्षले पटक–पटक दाइजोको विषय उठाउँदै छोरीलाई मानसिक तथा शारीरिक यातना दिने गरेको बताए। दाइजो पर्याप्त नल्याएको भन्दै अपमानजनक व्यवहार, कुटपिट तथा विभिन्न प्रकारका दबाब निरन्तर दिइएको उनको भनाइ छ।

उनका अनुसार केटा पक्षले आफूलाई ५० लाख रुपैयाँ लिएर छोरीको अन्तिम विवाह गर्नसमेत दबाब दिएको थियो। उनले असार ३ गते छोरीलाई कुटपिट गरी हत्या गरिएको दाबी गर्दै घटनामा प्रहरी प्रशासनबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि गरे।

पत्रकार सम्मेलनमा अलीले ज्वाइँ अरवाज आलमको अर्की युवतीसँग पनि सम्बन्ध रहेको आरोप लगाउँदै घरमै ती युवतीसँग भिडियो कलमार्फत कुराकानी गर्ने र त्यसको विरोध गर्दा खुशबुनमाथि कुटपिट हुने गरेको बताए।

“पाँच महिनाको वैवाहिक जीवनमध्ये मुस्किलले एक–दुई महिना मात्रै सम्बन्ध सामान्य रह्यो होला, बाँकी समय झगडा र तनावमै बित्यो,” उनले भने, “धेरै पटक पञ्चायती बसेर विवाद मिलाउने प्रयास गरियो तर हरेक पटक सुधार गर्ने प्रतिबद्धता जनाइए पनि व्यवहारमा कुनै परिवर्तन आएन।”

पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा आफूहरूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

Leave A Reply

Your email address will not be published.