सजावटमा झल्कियो विद्यार्थीको प्रतिभा, नवदिप एकेडेमीमा कक्षा सजावट कार्यक्रम सम्पन्न

102

वीरगञ्ज, असार १० आनन्द पटेल। वीरगञ्जस्थित नवदिप एकेडेमी स्कुलमा बुधबार कक्षा सजावट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा जुनियरतर्फ एलकेजी ‘ए’, निम्न माध्यमिकतर्फ कक्षा ३ ‘ए’ तथा माध्यमिकतर्फ कक्षा १० प्रथम स्थान हासिल गर्न सफल भएका छन्।

विद्यालयले विद्यार्थीहरूको सिर्जनशीलता, कला तथा प्रस्तुतीकरण क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले आ–आफ्नो कक्षाकोठालाई आकर्षक ढंगले सजाएका थिए। विद्यार्थीहरूले सजावटसँगै त्यसको उद्देश्य र विशेषताबारे प्रस्तुतीकरणसमेत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले सबै कक्षाको अवलोकन गर्दै विद्यार्थीहरूको रचनात्मकता र मेहनतको प्रशंसा गरे। उनले सबै विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेकाले निर्णय गर्न निकै कठिन भएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै सफल आयोजनाका लागि विद्यालय परिवार र अभिभावकलाई धन्यवाद दिए।

विशिष्ट अतिथि तथा क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेलले पनि कक्षाकोठाहरूको अवलोकन गर्दै विद्यार्थीहरूको सिर्जनात्मक सोचबाट आफू प्रभावित भएको बताए। उनले विद्यार्थीहरूसँग विभिन्न विषयमा अन्तरक्रिया गर्दै यस्ता गतिविधिले आत्मविश्वास र नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने बताए।

प्रतियोगितामा जुनियरतर्फ एलकेजी ‘ए’ प्रथम, नर्सरी ‘ए’ द्वितीय र यूकेजी ‘ए’ तृतीय भएका छन्। निम्न माध्यमिकतर्फ कक्षा ३ ‘ए’ प्रथम, कक्षा १ ‘ए’ द्वितीय र कक्षा २ ‘ए’ तृतीय भएका छन्। त्यसैगरी माध्यमिकतर्फ कक्षा १० प्रथम, कक्षा ९ द्वितीय र कक्षा ८ तृतीय स्थान हासिल गरेका छन्।

विद्यालयकी प्रधानाध्यापक शुशिला साहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।

कार्यक्रममा क्रियाशील युवा पत्रकार मञ्चका महासचिव राकेश साह, देश मधेश डटकमका सञ्चालक अभिलाष गुप्ता, रेस खबर डटकमका सन्तोष कुशवाहालगायत पत्रकार, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.