मोहरम पर्वलाई व्यवस्थित बनाउन प्रशासन र समुदायबीच सहमति

13

वीरगञ्ज, असार १० – मुस्लिम समुदायको आगामी दाहा (मोहरम/ताजिया) पर्वलाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भावका साथ सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बुधबार बसेको बैठकमा पर्वको सुरक्षा, व्यवस्थापन तथा आयोजकको जिम्मेवारीबारे विस्तृत छलफल भएको थियो।

बैठकमा हिन्दु धार्मिक अगुवा रञ्जीत शाहले हनुमान जयन्तीका अवसरमा हिन्दु समुदायले प्रशासनबाट आधिकारिक अनुमति लिएर कार्यक्रम सञ्चालन गरेको तथा सम्पूर्ण सुरक्षा र व्यवस्थापकीय जिम्मेवारी आफैंले बहन गरेको उदाहरण प्रस्तुत गर्दै मोहरम पर्वका आयोजक संस्थाले पनि आधिकारिक पत्र जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउनुपर्ने अडान राख्नुभयो।

शाहले कार्यक्रमको सुरक्षा, अनुशासन तथा व्यवस्थापनको पूर्ण जिम्मेवारी आयोजक संस्थाले नै लिनुपर्ने मागसमेत गर्नुभएको थियो। उहाँको उक्त मागलाई गम्भीरतापूर्वक लिँदै प्रमुख जिल्ला अधिकारी भोला दाहालले मुस्लिम समुदायका प्रतिनिधिहरूलाई आयोजक संस्थाको आधिकारिक पत्र बिहीबारभित्र जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन निर्देशन दिनुभएको छ।

प्रजिअ दाहालले आयोजकको पत्र प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसी मोहरम पर्वको अन्तिम रुट तथा विस्तृत सुरक्षा योजना तय गरिने जानकारी दिनुभयो।

बैठकले पर्वलाई व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न ९ बुँदे आचारसंहिता पनि जारी गरेको छ। आचारसंहिताअनुसार र्‍याली तथा शोभायात्रा प्रशासनले तोकेको रुट, मिति र समयअनुसार मात्र सञ्चालन गर्नुपर्ने, हातहतियार तथा उच्च ध्वनि उत्पन्न गर्ने उपकरण प्रयोग गर्न नपाइने, अन्य समुदायको धार्मिक भावनामाथि असर पुग्ने गतिविधि गर्न नहुने लगायतका व्यवस्था गरिएको छ।

यसैगरी, प्रत्येक र्‍याली वा झाँकीका जिम्मेवार व्यक्तिले आफ्नो नाम, सम्पर्क विवरणसहितको जानकारी एक दिनअघि प्रशासनमा बुझाउनुपर्ने, विवादास्पद झण्डा तथा सामाजिक सद्भावमा असर पुर्‍याउने सामग्री प्रयोग गर्न नपाइने र सामाजिक सञ्जालमा उत्तेजक सामग्री प्रसारण नगर्न आग्रह गरिएको छ।

पर्व अवधिभर सुरक्षा तथा समन्वयका लागि मुस्लिम समुदायको तर्फबाट महबुब अली (शेरु आलम) र हिन्दु समुदायको तर्फबाट रञ्जीत शाहलाई संयोजकको जिम्मेवारी दिइएको छ। रञ्जीत शाहले आयोजक संस्थाको आधिकारिक पत्र प्रशासनमा दर्ता भए मात्र निर्णयलाई मान्यता दिने आफ्नो अडान पुनः दोहोर्‍याउनुभएको थियो।

बैठकमा हिन्दु पत्रकार सङ्घका अध्यक्ष राजन रौनियार, धार्मिक अगुवा मौलाना अली अक्बर मदनी, कृष्णकुमार साह, ओमबाबु यादव, एस्मुहीन अन्सारी, अनवर हुसेन, शाशिकपुर मियाँलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकको अन्त्यमा सहभागी सबै पक्षले वीरगञ्जको धार्मिक सद्भाव, सामाजिक सहिष्णुता तथा आपसी एकतालाई कायम राख्दै मोहरम पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.