सशस्त्र प्रहरीद्वारा २५ लाखभन्दा बढी मूल्यका चौपाया, औषधि, किराना सामान र पिकअप गाडी बरामद

20

वीरगञ्ज, असार १० – सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा करिब २५ लाख ४० हजार ५४७ रुपैयाँ बराबरका चौपाया, औषधि, किराना सामान, तरकारी, मदिरा तथा एक पिकअप गाडी बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार असार ९ गते पर्साको जगरनाथपुर गाउँपालिका–१ पाण्डेपुर स्थित सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ना.३ च.१४६८ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको थियो। उक्त गाडीमा लोड गरिएको १ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको दुहुना भैँसी र एक पाडा सहित १२ लाख रुपैयाँ मूल्यको पिकअप गाडी गरी कुल १३ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको हो। प्रहरी टोलीलाई देख्ने बित्तिकै चालक तथा संलग्न व्यक्ति गाडी र चौपाया छाडेर भारत तर्फ फरार भएका थिए।

बरामद गरिएको भैँसी, पाडा तथा पिकअप गाडी असार १० गते आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी सोही दिन पर्साको आश्वारी, पाण्डेपुर, इनर्वा, छप्कैया, बहुअरी र अलौ सीमा क्षेत्रबाट १० लाख ६० हजार ६ सय ६२ रुपैयाँ बराबरका भैँसी, पाडा/पाडी, किटनाशक औषधि तथा मानिसले प्रयोग गर्ने विभिन्न औषधि बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।

यस्तै असार १० गते इनर्वा र मधवल क्षेत्रबाट ७५ हजार २ सय ८५ रुपैयाँ बराबरका अवैध किराना सामान, डिजेल, मेडिकल ल्याबमा प्रयोग हुने मेसिन तथा तरकारी बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

साथै जगरनाथपुरको मुरैया नाकाबाट १ लाख रुपैयाँ बराबरको लैनो भैँसी र एक पाडो बरामद गरिएको तथा उक्त चौपायाको लिलामी प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करी नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.