वीरगञ्जका खेलाडी अफताब आलमलाई मधेश प्रदेश तेक्वान्दो संघको सम्मान
वीरगञ्ज, असार ११ । वीरगञ्ज तेक्वान्दो डोजाङका खेलाडी अफताब आलम मधेश प्रदेश तेक्वान्दो संघबाट सम्मानित भएका छन्। तेक्वान्दो खेलको विकास, प्रवर्द्धन तथा विभिन्न प्रतियोगितामार्फत पुर्याएको योगदानको कदर गर्दै संघले उनलाई सम्मान–पत्र प्रदान गरेको हो।
आलमले तेक्वान्दो खेलमा देखाएको निरन्तर मेहनत, अनुशासन र समर्पणले वीरगञ्जसहित मधेश प्रदेशको खेल क्षेत्रलाई गौरवान्वित बनाएको भन्दै संघले सम्मान व्यक्त गरेको जनाएको छ। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउँदै तेक्वान्दो खेलको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

सम्मान प्राप्त गरेपछि आलमले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए। उनले आगामी दिनमा अझ मेहनतका साथ खेल क्षेत्रमा सक्रिय रहँदै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।
वीरगञ्ज तेक्वान्दो डोजाङ तथा खेलप्रेमीहरूले आलमलाई सम्मान प्राप्त गरेकोमा हार्दिक बधाई तथा सफल खेल जीवनको शुभकामना व्यक्त गरेका छन्। खेलकुदमार्फत वीरगञ्ज, मधेश प्रदेश र नेपाललाई थप गौरवान्वित बनाउन उनले निरन्तर सफलता हासिल गरून् भन्ने कामना गरिएको छ।