हैजा विरुद्ध पूर्वतयारी सुदृढ बनाउन वीरगञ्जमा दुईदिने कार्यशाला सम्पन्न

55

वीरगञ्ज, असार १२

हैजा लगायत जलजन्य तथा सरुवा रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले वीरगञ्जमा आयोजित दुईदिने कार्यशाला शुक्रबार सम्पन्न भएको छ।

नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित ‘हैजा पूर्वतयारी सुदृढीकरण तथा सिकाइ आदानप्रदान कार्यशाला’मा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

वीरगञ्ज स्थित होटल क्लार्क रिसोर्ट गण्डकमा सम्पन्न कार्यशालामा हैजा नियन्त्रण तथा रोकथामका लागि हालसम्म गरिएका प्रयास, प्राप्त उपलब्धि, सिकाइ, चुनौती तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले सम्भावित महामारीको समयमा प्रभावकारी प्रतिकार्यका लागि आवश्यक तयारी, समन्वय र स्रोत व्यवस्थापनका विषयमा अनुभव आदानप्रदान गरेका थिए।

समापन समारोहका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले हैजाजस्ता रोग नियन्त्रणका लागि सम्बन्धित सबै निकायबीचको सहकार्य र समयमै तयारी अपरिहार्य रहेको बताए। उनले स्वास्थ्य जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि र स्थानीय तहसम्म प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा ग्लोबल टास्क फोर्स अन कोलेरा कन्ट्रोलका एशिया क्षेत्रीय प्रबन्धक डा. अभिषेक रिमाल, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल महम्मद मियाँ, पर्सा शाखाका सभापति वृजकिशोर पटेल, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझा, स्वास्थ्य सेवा विभागका डा. हेमन्त ओझा तथा लक्ष्मी पाण्डेलगायतले हैजा नियन्त्रणका लागि बहुपक्षीय सहकार्यको आवश्यकता औँल्याएका थिए।

त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय पर्सा र बारा, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा नेपाल रेडक्रस सोसाइटीका विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यशालामा वक्ताहरूले सुरक्षित खानेपानीको पहुँच, सरसफाइ प्रवर्द्धन, प्रभावकारी निगरानी प्रणाली, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि तथा समुदायस्तरमा जनचेतना विस्तारलाई हैजा नियन्त्रणका प्रमुख आधारका रूपमा उल्लेख गरेका थिए।

कार्यशालाबाट प्राप्त अनुभव, सुझाव र सिकाइलाई आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गर्दै हैजा पूर्वतयारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.