प्रसौनी बिर्ताका स्थानीयलाई राहत, नयाँ बस्तीमा सडक ढलान कार्य प्रारम्भ
वीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ अन्तर्गत प्रसौनी बिर्ताको नयाँ बस्ती क्षेत्रमा मंगलबारदेखि सडक ढलान कार्य सुरु भएको छ। स्थानीय बासिन्दाले लामो समयदेखि माग गर्दै आएको सडक निर्माण कार्य अन्ततः सुरु भएपछि क्षेत्रका बासिन्दामा उत्साह छाएको छ।
माउन्ट हर्मन स्कुलदेखि दक्षिणतर्फ नारायण बढईको घर हुँदै शम्भु ठाकुरको घरसम्म निर्माण हुन लागेको उक्त सडकको ढलान कार्यको शिलान्यास संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले गरेका हुन्। शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
पूर्वाधार विकास कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको उक्त सडक २०० मिटर लम्बाइ र १० फिट चौडाइको रहने जनाइएको छ। सडक निर्माणका लागि आवश्यक बजेट प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रममार्फत व्यवस्थापन गरिएको बताइएको छ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै यादवले विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको उल्लेख गर्दै स्थानीय नागरिकको आवश्यकता र मागअनुसार पूर्वाधार निर्माणलाई तीव्रता दिइएको बताए। उनले निर्धारित समयभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशनसमेत दिएका थिए।
उनका अनुसार सडक ढलान कार्य एक साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्य सम्पन्न भएपछि नयाँ बस्तीमा बसोबास गर्ने एक दर्जनभन्दा बढी परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै विद्यालय जाने विद्यार्थी, दैनिक आवतजावत गर्ने सर्वसाधारण तथा सवारी साधन सञ्चालनमा समेत सहजता आउने विश्वास गरिएको छ।
स्थानीयवासीले वर्षौंदेखि कच्ची सडकका कारण वर्षायाममा हिलो तथा जलजमावको समस्या भोग्दै आएका थिए। सडक बिग्रँदा पैदल यात्रु, विद्यार्थी तथा सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको थियो। अब सडक ढलान भएपछि ती समस्याको समाधान हुने र स्थानीयको दैनिक जीवन सहज बन्ने अपेक्षा गरिएको छ।
सडक निर्माण कार्य सुरु भएकोमा स्थानीय बासिन्दाले खुशी व्यक्त गर्दै निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता विकास निर्माणका कार्यलाई निरन्तरता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।