पर्सा प्रहरीको सफल कारवाही : आँप बेच्दै ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक पक्राउ

59

वीरगञ्ज, असार १६  आनन्द पटेल—

पर्सा प्रहरीले ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार  पत्रकार सम्मेलन मार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार असार १६ गते साँझ करिब ६ बजे वीरगञ्ज महानगरपालिका–९ भूतबङ्गला नजिक सडकको पश्चिम पेटीमा एक भारतीय नागरिकले साइकलमा आँप बेच्दै लागूऔषध ब्राउन सुगरसमेत बिक्री गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा निगरानी गरेको थियो। निगरानीका क्रममा साइकलमा आँप बिक्री गरिरहेका भारत, बिहार राज्य, बेतिया जिल्ला, गोपालपुर थाना अन्तर्गत घोघा ग्राम पञ्चायत–२ घर भएका तथा हाल वीरगञ्ज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका ३० वर्षीय गुडडु आलमलाई प्रहरीले शंकाको आधारमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा साइकलको पछाडिको चक्कानजिक झुण्ड्याइएको प्लास्टिकको बोराभित्र कालो प्लास्टिकले बेरेर सेतो प्लास्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने २७ ग्राम २९० मिलिग्राम गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित आलमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो।

उहाँले लागूऔषध नियन्त्रणका लागि सञ्चारकर्मीहरूको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता गतिविधिबारे सूचना उपलब्ध गराउन पत्रकारहरूलाई आग्रह गर्नुभयो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी राजु कार्की को समेत उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.