तलब विवाद टुंगियो, सहमतिसँगै महानगरका कर्मचारी काममा फर्किए
वीरगञ्ज, असार २५
बाँकी रहेको तलब भुक्तानीको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले बिहीबार बिहानदेखि सुरु गरेको आन्दोलन वार्तापछि स्थगित भएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा तथा आन्दोलनरत कर्मचारीबीच भएको छलफलपछि सहमति जुटेसँगै कर्मचारी काममा फर्किएका छन् र महानगरका नियमित सेवा पुनः सञ्चालनमा आएका छन्।
स्थानीय निकाय कर्मचारी संघ (एमाले) समर्थित महानगर एकाइ समितिका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले जेठ र असार महिनाको तलब तत्काल उपलब्ध गराउनुपर्ने माग राख्दै केही समयका लागि महानगरको दैनिक कामकाज प्रभावित पारेका थिए।
वार्ताका क्रममा जेठ महिनाको तलब तत्काल निकासा गर्ने सहमति भएको जनाइएको छ। सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको कर्मचारी पक्षले जनाएको छ।
कार्यवाहक नगर प्रमुख आलमले आन्दोलनप्रति असन्तुष्टि व्यक्त गर्दै कर्मचारीका माग सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले तलब निकासाको प्रक्रिया अघि बढिसकेको अवस्थामा सेवा प्रभावित हुने गरी आन्दोलन गर्नु उपयुक्त नभएको धारणा राखे।
महानगर स्रोतका अनुसार विगतदेखि रोकिएको केही महिनाको तलबमध्ये अधिकांश रकम यस अघि नै निकासा गरिएको थियो भने बाँकी तलब समेत क्रमशः भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको छ।
सहमतिसँगै महानगरका सबै सेवा नियमित रूपमा सञ्चालनमा आएका छन्।