छोराको डाइपरभित्र ब्राउन सुगर, बुबा–आमा सहित तीन जना प्रहरी नियन्त्रणमा

87

झापा । आफ्नै दुई महिनाको छोराको डाइपरभित्र ब्राउन सुगर लुकाएर भारतबाट नेपाल भित्राउँदै गरेका बुबा–आमासहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार साँझ करिब ५:१५ बजे भद्रपुर नगरपालिका–५ स्थित बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको किसनगञ्ज जिल्ला घर भई हाल बिर्तामोड नगरपालिका–५ बस्दै आएका ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन तथा सोही स्थानका ३८ वर्षीय मोहम्मद तजरुल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बिर्तामोडबाट मे १ ह ५०११ नम्बरको अटो लिएर भद्रपुर नाका पुगेका थिए। अटो मेची पुलमा छाडेर भारतको गलगलिया पुगेर ब्राउन सुगर खरिद गरेका उनीहरूले उक्त लागुऔषध आफ्नै दुई महिनाको छोरा सोहेल आलमले लगाएको डाइपरभित्र लुकाएर नेपाल ल्याउन खोजेका थिए।

प्रहरीले शंका लागेपछि गरेको जाँचका क्रममा शिशुको डाइपरभित्र प्लास्टिकको प्याकेटमा लुकाइएको ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.