नारायणी अस्पताल घटनाको विरोधमा पोखरिया अस्पतालका चिकित्सक आन्दोलनमा, ओपीडी सेवा बन्द

34

पोखरिया, साउन ११ — नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा आकस्मिक कक्षमा गरिएको तोडफोडको विरोधमा पर्साको पोखरिया अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आइतबार आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनका क्रममा अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द गरिएको छ भने आकस्मिक (इमरजेन्सी) सेवा भने नियमित सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नारायणी अस्पतालमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले स्वास्थ्य संस्थामाथि हुने हिंसात्मक गतिविधि अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्नुपर्ने र अस्पताललाई सुरक्षित कार्यस्थलका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

विरोध कार्यक्रममा पोखरिया अस्पतालका चिकित्सकहरू डा. आनन्द रौनियार, डा. अजय गुप्ता, डा. मृगेन्द्र सिंह यादव, डा. ओमप्रकाश यादव, डा. अभिषेक चौधरी, डा. सुरेश प्रसाद यादव तथा फार्मेसी विभागका राकेश यादव, निलम साहलगायत स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य संस्थाहरूमा सुरक्षाको माग गर्दै आन्दोलन तथा विरोध कार्यक्रमहरू भइरहेका छन्।

Leave A Reply

Your email address will not be published.