बाराको कलैयामा मोटरसाइकल दुर्घटना: एक किशोरको मृत्यु, एक घाइते

68

वीरगञ्ज, साउन ११ — बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार बिहान करिब ८:२५ बजे भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित मंसुरका १५ वर्षीय छोरा सोयब मंसुर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार कलैया–३ निवासी साबिर हुसेन अन्सारीका १५ वर्षीय छोरा साहिद अन्सारीको हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते दुवैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९ बजे चिकित्सकले ईसीजी परीक्षणपछि सोयबलाई मृत घोषणा गरेका थिए।

दुर्घटनाको खबर पाएलगत्तै अस्थायी प्रहरी पोस्ट गंगापुर, बाराबाट प्रहरी निरीक्षक महमद हुसेन देवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

मृतकको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave A Reply

Your email address will not be published.