वीरगञ्ज, १५ कात्तिक आनन्द पटेल।
बदलिँदो समय, डिजिटल प्रविधिको प्रभाव र पुस्ताबीच बढ्दै गएको दूरीलाई सम्बोधन गर्दै वीरगञ्जस्थित ज्ञानदा एकेडेमीले ‘नियन्त्रणबाट आत्मीयता तर्फ : बदलिँदो संसारमा जेनजी पुस्ताको अभिभावकत्व’ विषयक विशेष विचार–गोष्ठी सम्पन्न गरेको छ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी आयोजित कार्यक्रममा आधुनिक पुस्ताको सोच, भावना, आवश्यकता तथा मनोविज्ञान बुझ्दै अभिभावक र सन्तानबीचको सम्बन्धलाई थप आत्मीय र विश्वासपूर्ण बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको परिकल्पना तथा नेतृत्व ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्राचार्य राजेन्द्र प्रसाद कोइरालाले गरेका थिए।
कार्यक्रममा प्राचार्य कोइरालाले सन्तानको रुचि, क्षमता र प्रतिभालाई पहिचान गरी सोही अनुसार प्रोत्साहन गर्न अभिभावकलाई आग्रह गरे। सन्तानलाई डाक्टर, इन्जिनियर वा सरकारी कर्मचारी नै बनाउनुपर्छ भन्ने परम्परागत सोचबाट माथि उठ्दै उनीहरूको वास्तविक क्षमता र इच्छालाई सम्मान गर्नुपर्नेमा उनले जोड दिए।
उनले बालबालिकालाई अरूसँग तुलना गर्ने प्रवृत्तिले उनीहरूको आत्मविश्वास र सिर्जनात्मक क्षमतामा नकारात्मक असर पार्न सक्ने उल्लेख गर्दै अभिभावकले सन्तानमाथि आफ्ना महत्त्वाकांक्षा लाद्नुभन्दा उनीहरूको रुचि बुझ्नुपर्ने बताए।
त्यसैगरी, जेनजी पुस्तालाई केवल नियन्त्रण र आदेशबाट नभई संवाद, विश्वास, समझदारी र आत्मीयताबाट सही दिशामा अघि बढाउन सकिने उनको भनाइ थियो। अभिभावकले सन्तानका कुरा ध्यानपूर्वक सुन्ने, उनीहरूको भावना बुझ्ने र समस्यामा साथी तथा मार्गदर्शकको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा आधुनिक किशोरकिशोरीको मनोविज्ञान र अभिभावकीय व्यवहारका प्रभाव समेटिएका दुईवटा लघुचलचित्र समेत प्रदर्शन गरिएको थियो। चलचित्रमार्फत अभिभावकको बेवास्ता, अनावश्यक दबाब र असन्तुलित व्यवहारले सन्तानमा पार्ने मानसिक तथा भावनात्मक असरका साथै माया, विश्वास र सकारात्मक संवादले सम्बन्धमा ल्याउन सक्ने परिवर्तन प्रस्तुत गरिएको थियो।
चलचित्र प्रदर्शनपछि आयोजित खुला अन्तरक्रियामा अभिभावकहरूले आफ्ना अनुभव, चुनौती र जिज्ञासा राखेका थिए। सहभागीहरूले सन्तानमाथि अनावश्यक अपेक्षा राख्ने, अरूसँग तुलना गर्ने र उनीहरूको भावना नबुझ्ने प्रवृत्तिबारे आत्मसमीक्षा गर्दै अभिभावकीय व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता कार्यक्रमले आफ्ना सन्तानलाई बुझ्न र उनीहरूसँगको सम्बन्ध सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए।
ज्ञानदा एकेडेमीले यस कार्यक्रममार्फत शिक्षण सिकाइसँगै विद्यार्थीको मानसिक, भावनात्मक र व्यक्तित्व विकासमा अभिभावकको भूमिकालाई समेत प्राथमिकता दिएको जनाएको छ। सन्तानको भविष्य निर्माणमा विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको सन्देश सहित कार्यक्रम सम्पन्न भएको थियो।