प्याब्सन क्रिएटिभ स्ट्रोक्समा २६ विद्यालयका १८४ विद्यार्थीले देखाए हस्तलेखन कला

199

वीरगञ्ज आनन्द पटेल।

विद्यार्थीहरूमा रहेको सिर्जनात्मक क्षमता, कलात्मक प्रतिभा तथा लेखन सीपको विकास गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले आयोजना गरेको ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत हस्तलेखन प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

‘जहाँ रङहरू भेटिन्छन् सुन्दर अक्षरहरूसँग’ भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा गौतम मावि, रोयल एकाडेमी, साउथ जोन मावि, एसआर ग्यालेक्सी, नवदीप एकाडेमी लगायत पर्साका २६ विद्यालयका १८४ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रतियोगितालाई विद्यार्थीहरूको कक्षागत स्तर अनुसार चार समूहमा विभाजन गरिएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए। उनका अनुसार कक्षा १ देखि ३, ४ देखि ५, ६ देखि ८ र ९ देखि १० सम्मका विद्यार्थीलाई छुट्टाछुट्टै समूहमा राखेर प्रतिस्पर्धा गराइएको थियो।

प्रत्येक समूहबाट प्रथमदेखि पाँचौँ स्थान हासिल गर्ने विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको अर्को विधा चित्रकला कार्यक्रम आइतबार आयोजना हुने प्याब्सन महानगरका सचिव अमित आलोकले जानकारी दिए।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान र विकासलाई पनि प्राथमिकता दिँदै आएको बताए। उनले यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूलाई समाजमा आफ्नो पहिचान स्थापित गर्न र जीवनमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो कल्पनाशक्ति, सिर्जनशीलता र कलात्मक क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताए। उनका अनुसार चित्रकलाले कल्पनाशक्ति र रचनात्मक सोचको विकासमा सहयोग पुर्‍याउनेछ भने हस्तलेखन प्रतियोगिताले अक्षरलाई स्पष्ट, आकर्षक र व्यवस्थित रूपमा लेख्ने बानीको विकास गर्न प्रेरित गर्ने छ।

शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्यले प्याब्सनले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको आयोजकले जनाएको छ। यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, स्वस्थ प्रतिस्पर्धाको भावना र आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

रोयल एकाडेमी स्कुलको प्राङ्गणमा सम्पन्न कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वरिष्ट उपाध्यक्ष सुशीला साह उपाध्यक्ष शर्मानन्द कुशवाहा, महानगर अध्यक्ष राहुल श्रीवास्तव, रोयल एकाडेमीकी प्रिन्सिपल विजया ओझैया, विजय मल्ल, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिकासहित पत्रकार जगत राई, दिपु बर्नवाल र क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल लगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.