प्रमुख जिल्ला अधिकारी दाहालको छड्के अनुगमन, सेवाग्राहीलाई छिटो र सहज सेवा दिन कर्मचारीलाई कडा निर्देशन

68

वीरगञ्ज, २१ श्रावण

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला प्रशासन कार्यालय पर्साको छड्के अनुगमन गर्दै सेवाग्राहीलाई सरल, सहज, छिटो–छरितो तथा प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले कार्यालयमा सेवा लिन आउने नागरिकलाई कुनै पनि बहानामा अनावश्यक रूपमा कुराउने, झन्झटमा पार्ने वा दुःख दिने कार्य स्वीकार्य नहुने स्पष्ट पारे। उनले सेवाग्राहीको समयको सम्मान गर्दै कानुनबमोजिम निर्धारित समयसीमाभित्र सेवा उपलब्ध गराउन सबै कर्मचारीलाई निर्देशन दिएका हुन्।

उनले सरकारी कार्यालयप्रति नागरिकको विश्वास कायम राख्न सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए। सेवा प्रवाहमा ढिलासुस्ती, लापरवाही वा गैरजिम्मेवार व्यवहार देखिएमा सम्बन्धित कर्मचारीमाथि आवश्यक कारबाही गरिने चेतावनीसमेत दिए।

प्रमुख जिल्ला अधिकारी दाहालले कर्मचारीहरूलाई सेवाग्राहीसँग शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै सार्वजनिक सेवामा अनुशासन, इमान्दारिता र कार्यकुशलता अपरिहार्य रहेको बताए। कार्यालयमा आउने प्रत्येक नागरिकले सहज र सन्तोषजनक सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु सबै कर्मचारीको साझा दायित्व भएको उनको भनाइ थियो।

छड्के अनुगमनका क्रममा विभिन्न शाखाको सेवा प्रवाह, कर्मचारीको उपस्थितिका साथै सेवाग्राहीलाई उपलब्ध गराइँदै आएको सेवाको अवस्थाबारे जानकारी लिइएको थियो। अनुगमनका क्रममा देखिएका केही विषयमा तत्काल सुधार गर्न सम्बन्धित शाखाका कर्मचारीलाई निर्देशन दिइएको जनाइएको छ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारीद्वय कृष्ण थापा र कृष्ण चौलागाईको समेत सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय पर्साले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउन आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.